काँकडभिट्टा/ नेपाली महिलाहरूलाई भारतका मिजोरम, मणिपुरहुँदै अवैधरूपमा खाडी मुलुक पुर्याउन दलालहरूको सक्रियता बढेको पाइएको छ ।
पूर्वी नेपालहुँदै भारतको मिजोरम पुर्याइएका २३ नेपाली महिलालाई उद्धार गरी बिहीबार नेपाल फर्काइएको छ । यसअघि पनि सोही बाटो हुँदै लगिएका १ सय २३ महिलालाई फर्काइएको थियो ।
मिजोरमको चम्फी भन्ने ठाउँबाट ती नेपाली महिलाहरूलाई उद्धार गरिएको मिजोरम प्रहरीका महानिरीक्षक एलएच शान्लियानाले जानकारी दिएका छन् । उनीहरू घुमघामको बहानामा मिजोरम प्रवेश गरेका थिए । लालबहादुर नाम गरेका नेपाली दलालले उनीहरूलाई मिजोरम पुर्याएको प्रहरीले जनाएको छ ।
नेपाली महिलाहरुलाई वैदेशिक रोजगारीका लागि मिजोरम, बर्मा हुँदै दक्षिणपूर्वी एसियाली देशहरु र खाडी मुलुकसम्म घरेलु कामदारका लागि लैजाने क्रममा महिलाहरुलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो । पछिल्लो समय मिजोरम, मणिपुर तथा विभिन्न भारतीय नाका हुँदै दलालले नेपाली महिलाहरूलाई घरायसी कामदारका लागि अवैधरूपमा लाने गरेका छन् । दलालले कम पैसामा विदेश पु¥याउने भन्दै नेपालमा पहाडी जिल्लाबाट महिलालाई प्रलोभनमा पारेर लाने गरेको पाइन्छ ।
बिहीबार नेपाल फर्काइएका महिलाहरूलाई झापास्थित माइती नेपालमा राखिएको छ । नेपाल फर्काइएकामध्ये धेरैजसो सुनसरी, मोरङ र झापाका महिला छन् । उनीहरुलाई आफन्तको जिम्मा लगाई नेपालका अन्य भेगका महिलालाई काठमाडौं लगिने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले बताए ।
उनीहरूलाई मन्त्रालयका उपसचिव भुसालको सक्रियतामा शक्ति समूह, माइती नेपाललगायतका संस्थाहरूको पहलमा नेपाल ल्याइएको हो । उनीहरूलाई लैजाने दलाल लालबहादुरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।