वासिङ्टन / संयुक्तराज्य अमेरिकाले मध्यपूर्वमा एउटा बिमान बाहक जहाज र एउटा बमबर्षक टोली पठाउन लागेको जनाएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले एक विज्ञप्तिमा इरानलाई स्पष्ट सन्देश दिन चाहेको बताए ।

बोल्टनले अमेरिकी केन्द्रीय कमान्डलाई मद्दत गर्न युएसएस अब्राहम लिन्कन क्यारिअर स्ट्राइक ग्रुप र एउटा बमबर्षक टास्क फोर्स पठाउन लागिएको जनाए  । उनले इरानका कारण अमेरिकी सेना, अमेरिकी गठबन्धन र अमेरिकी हित प्रतिकूल गतिविधि हुने स्पष्ट सङ्केत देखिएको दाबी पनि गर्नुभएको छ । यस नयाँ व्यवस्थापछि अमेरिकी सुरक्षाफौजले अमेरिकी हित विपरीतका कुनै गतिविधि भएमा त्यसलाई नियन्त्रणमा ल्याउन जुनसुकै कारबाही गर्नसक्ने क्षमता विकास हुने बोल्टनको भनाई छ ।

बोल्टनले भने, “संयुक्तराज्य अमेरिका इरानी सत्तासँग युद्ध गर्न चाहँदैन, तर कुनै आक्रमण भए त्यसविरुद्ध लड्न पूर्णरुपमा तयार छ । यस्तो युद्ध छद्मभेषी, इस्लामिक क्रान्तिकारी गार्ड वा नियमित इरानी फौज नै किन नहोस् ।” विज्ञप्तिमा अहिल्यै नयाँ फौज परिचालन गर्नु परेको हो भन्ने केही खुलाइएको छैन । संयुक्तराज्य अमेरिकाले इरानसँग यसअघि सन् २०१५ मा भएको बहुपक्षीय सम्झौता तोडेर इरानमाथि प्रतिबन्ध घोषणा गरेपछि दुबै मुलुकबीच तनाब सिर्जना भएको छ ।