जनकपुर । प्रदेश नं.२ मा प्रत्येक वर्ष झैं यसवर्ष पनि जानकी मन्दिरपरिसरमा जानकी नवमी महामहोत्सव २०७६ आइतबारदेखि विधिवत् रूपमा शुरु भएको छ । आइतबारदेखि शुरु भएको जानकी नवमीको अवसरमा १५ दिनसम्म विविध कार्यक्रमको आयोजना गरी मनाइनेछ ।

आइतबार पहिलो दिन रामकथा प्रवचन, नवाह रामायण पाठ र साँझ बधाई मङ्गलगानको कार्यक्रम रहेको छ र यो कार्यक्रम वैशाख ३० गतेसम्म चल्नेछ । जानकी नवमीलाई लिएर जानकी मन्दिरमा श्रद्धालुको घुइँचो लागेको छ ।

जानकी जन्म महोत्सवको विशेष कार्यक्रम वैशाख ३० गतेदेखि शुरु हुने महन्थ रामरोशन दासले बताए । उनले महोत्सवलाई मौलिक र सांस्कृतिक पर्वको रूपमा मनाउन सबैलाई आग्रह गरेका छन् । महोत्सवमा वैष्णव रामकथाको लागि वृन्दावन उत्तर प्रदेश भारतबाट बाल व्यास सन्त हरिशरण उपाध्यायलाई बोलाइएको छ । प्रवचनको लागि मन्दिरबाहिर प्राङ्गणमा भव्य पन्डाल लगाइएको छ । जानकी मन्दिरको सजावट तथा मन्दिर शृङ्गार पनि अन्तिम चरणमा पुगेको छ ।

जानकी नवमीमा यस पटक शोभा यात्रा, दूधमती साही स्नान, रामायण मेला, राम र सीतालाई केन्द्रित गरी कवि गोष्ठी, रामायणमा आधारित प्रश्नोत्तर प्रतियोगिता, मिथिला चित्रकलासम्बन्धी प्रदर्शनी, प्रादेशिक भाषाको सांस्कृतिक कार्यक्रमसहितका कार्यक्रमहरू गर्ने आयोजकले जानकारी दिएको छ । जानकी नवमीलाई लिएर यसवर्ष भारतका चर्चित मठाधीश र सन्त–महन्थलाई आमन्त्रण गरिएको छ ।

चतराधामका जगद्गुरु कृष्णदास महाराज, अयोध्याका मैथिली शरणदास, काशी वनारसका महन्थ राजकुमार दासलगायतका एक दर्जनभन्दा बढी महत्मा आउने भएका छन् । त्यस्तै रामायणमाथि प्रवचन दिन सिरहाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रदीप गिरीलाई समेत जानकी जन्म महोत्सवको लागि आमन्त्रण गरिएको छ ।