वराहक्षेत्र/ दोश्रो पिण्डेश्वर अद्र्ध महाकुम्भ मेला सफल पार्न कुनै कसर बाँकी नछोडिने १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री र कुम्भ मेलाका संयोजक हिक्मत कार्की बताएका छन् ।
चैत्र २३ गतेबाट शुरु हुन लागेको १ महिने अद्र्ध महाकुम्भ मेलाको जानकारी गराउँन प्राचीन हरिद्वार चतराधामस्थित जगद्गुरु पीठमा आयोजना गरिएको पत्रकार भेटभाटमा बोल्दै मन्त्री कार्कीले त्यस्तो बताएका हुन् । पत्रकारहरूसँग कुरा गर्दै मन्त्री कार्कीले जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले, धार्मिक जागरणद्वारा सम्पूर्ण नेपालीहरूमा एकताको सूत्रमा बाँध्नका लागि, पवित्र कुम्भको रचना गरेको बताए । उनले कुम्भलाई कुनै किसिमको अप्ठेरो नहुने भन्दै सङ्घीयदेखि लिएर प्रदेश र स्थानीय सरकारले मेलालाई चाहिने जति आर्थिक सहयोग गरिने बताए ।
प्रदेश सरकारले उपलब्ध गराएको प्रेस विज्ञप्तिमा, कुम्भ आउँने श्रद्धालुहरूको लागि शान्तिसुरक्षा प्रदान गर्ने बताइएको छ । कुम्भ स्नानस्थललगायत अन्य स्थलको सुरक्षाको लागि नेपाली सेना पूर्वी पृतना हेडक्वाटरलाई खटाइने छ भने आगलागी जोखिमबाट बच्न वराहक्षेत्र, रामधुनी, बेलका, धरान, इटहरी र विराटनगरका वारुणयन्त्रलाई तयारी अवस्थामा राखिने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा मेला अवधिभर चतराधाममा माछामासु तथा मदिराको बिक्री वितरणमा रोक लगाइने, मेला अवधिभर विद्युत् आपूर्ति सहज र नियमित गर्नका लागि नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरिने भएको छ । धार्मिक पर्यटक तथा श्रद्धालुहरूको सुविधाको लागि हेल्प डेस्कदेखि लिएर भारत र नेपालको डेविट र क्रेडिट कार्ड दुवै चल्ने मोबाइल एटिएम राखिने बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले सारा नेपालीलाई एकताको सूत्रमा बाँध्नको लागि सुदूरपश्चिम महाकालीमा ७५ फिट अग्लो अष्ट धातुको नेपाल आमाको मूर्ती निर्माण र पूर्वमा कुम्भ मेलाको आयोजना गरिएको बताए ।
उनले नेपाल र नेपालीमा धार्मिक, समाजिक, साम्रदायिक एकता, अखण्डता तथा राष्ट्रको आर्थिक र भौतिक उन्नतिका लागि पनि कुम्भ मेलालाई सफल पार्न उनले आग्रह गरे । मेलाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । चैत २२ गते धरानको पिण्डेश्वर मन्दिरबाट कलश यात्राको शुरुवात मुख्यमन्त्री शेरधन राईले गर्ने राधाकृष्ण भक्ति साधाना आध्यात्मिक प्रतिष्ठानका महासचिव प्रह्लाद भट्टराईले बताए ।
बुधबार नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तीन वटै सुरक्षा निकायका करिब ४ सय जना, यसैगरी सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उपे्रतीलगायत उदयपुर, मोरङलगायतको प्रमुख जिल्ला अधिकारी तथा नगरप्रमुख र सङ्घसंस्थाहरूले कुम्भस्थलको सरसफाइ गरेका थिए ।