धरान । रङको पर्व होलीलाई संस्कृतिअनुसार आपसी शुभकामना साटासाट गरेर शान्तिपूर्ण बनाउनका लागि धरान प्रहरीले विशेष प्रचारात्मक अभियान चलाएको छ ।
धरानमा बुधबारदेखि अभियान शुरु गरेको इलाका प्रहरी कार्यलय, धरानका डीएसपी सुमन तिम्सिनाले जानकारी दिए । डीएसपी तिम्सिनाका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी र समुदायले संयुक्त अभियानमार्फत प्रचारात्मक र्यालीसहित माइकिङ, मोबाइलगस्ती गर्ने बाताएका छन्।

उनले होलीमा  उच्छृङखलता देखियो भने कारवाही हुने उनले चेतावनी पनि दिएका छन् ।

यो वर्ष काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रमा चैत ६ गते र तराईमा चैत ७ गते होली मनाइ“दैछ । भित्री मधेशका कतिपय जिल्लामा भने होली दुबै दिन मनाउने गरिन्छ । रङ दलेर होली एक आपसमा भाइचाराका साथ खुशी मनाउँदै सद्भाव साटासाट गर्ने पर्व हो ।

तर पछिल्लो समयमा बेलुनमा पानी भरेर जथाभावी हान्ने, बटुवालाई फोहर पानी छ््याप्ने, जबरर्जस्ती रङ दल्नेलगायत उच्छृङ्खल गतिविधि देखिने गरेको छ । यस्ता विकृतिले कतिपयको लडेर त कतिपयको आपसी विवादका कारण मृत्यु नै भएका घटना छन् ।

अहिले जिल्ला प्रहरी कार्यालयलाई पनि घटना भएपछि पक्राउ गर्नुभन्दा घटना हुन नदिनका लागि विभिन्न कार्यक्रम गरी सचेतना अभियान सञ्चालन गर्न निर्देशन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले घटना हुन नदिन शुरुमै प्रचारात्मक कार्यक्रममार्फत सचेत बनाउँदै संस्कृति र परम्परा अनुसार होली खेल्न अनुरोध गरिएको छ । पर्वका दिन कुनै उच्छुङ्खलता देखियो भने पक्राउ गरी कारवाही गरिने बताए ।

समुदाय र प्रहरीको संयुक्त अभियान जारी रहेकाले विगतको भन्दा घटना न्यूनीकरण हुने विश्वास गरिएको उनको भनाइ छ । इलाका प्रहरी कार्यलय धरानले होलीलाई मध्यनजर गरेर बगरकोट, घोपा, विष्णुपादुका, जिरोपोइन्ट र तीनकुने गरी धरानका ५ ठाउँमा चेक पोइन्ट स्थापना गरेको छ । डिएसपी तिमल्सिनाका अनुसार प्रत्येक चेक पोइन्टमा चार जना प्रहरी सादा पोसाकमा परिचालन गरिएको छ । चेकपोइन्टमा मापसे चेकिङलगायत सुरक्षा चेकिङका कारबाही हुनेछन् । शान्ति सुरक्षाका लागि धरानमा तीन वटा सवारीसाधन परिचालन
गरिएको छ ।

प्रहरीले जनचेतनाको लागि माइकिङ, प्रचारप्रसार लगायतका प्रचारात्मक योजना लागू गरेको छ ।
इच्छाविपरीत होली दल्ने, लोला हान्ने, पानी खन्याउने, अमर्यादित गतिविधि गरेको पाइएमा अभद्र व्यवहार अन्तर्गत कानूनी कारवाही हुने डीएसपी तिम्सिनाले बताए । होलीलाई नै केन्द्रीत गरेर सुरक्षा योजना बनाएको जानकारी दिंँदै शङ्कास्पद क्षेत्रमा विशेष निगरानी गरिएको उनले बताए । तिम्सिनाले होलीमा अवाञ्छित गतिविधि नहोस् भनेर समुदायसँग समन्वय गरी सचेतना अभियान सञ्चालन गरिएको बताए ।

सतहत्तरै जिल्लाले तीन दिनदेखि नै होली विशेष सुरक्षा योजनाअन्तर्गत प्रचारात्मक कार्यक्रम अघि बढाएको र मापसे चेकजाँचदेखि अवाञ्छित गतिविधि निगरानीमा प्रहरी कर्मचारी थपेर सुरक्षा मजबुद बनाइएको प्रहरीको भनाइ छ ।