उर्लाबारी/ नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र उर्लाबारीमा रगत अभाव भएपछि रक्तदानको लागि अपिल गरेको छ । मौसम परिवर्तनसँगै अस्पतालहरूमा बिरामीको चाप वृद्धि भएपछि रगत अभाव हुन थालेको हो ।
रक्तसञ्चार सेवा केन्द्र उर्लाबारीले मङ्गलबार जारी गरेको सार्वजनिक सूचनामा स्थानीय अस्पतालहरूमा भर्ना भएका बिरामीहरूको उपचारको लागि रगतको अभावका कारण समस्या भएकोले पूर्वोत्तर मोरङका उर्लाबारी, मिक्लाजुङ, रतुवामाई, पथरी–शनिश्चरे, कानेपोखरी क्षेत्रमा सक्रिय रहेका रेडक्रस अन्तर्गतका उप–शाखालगायत सम्पूर्ण सङ्घ–संस्थाहरूलाई रक्तदानको कार्यक्रम आयोजना गरी मानवीय सहयोग पु¥याउन अपिल गरिएको छ ।
यसै वर्षको असोज ३ गतेदेखि उर्लाबारीमा पहिलो पटक सञ्चालनमा आएको सो केन्द्रमा विभिन्न सङ्घ–संस्थाले सङ्कलन गरेको ५ सय ३९ पिन्ट रगत बिरामीको उपचारको लागि खपत भएको सो केन्द्रले जनाएको छ ।
यस क्षेत्रमा रहेका अस्पतालहरूमा दैनिक आउने बिरामीहरूको लागि रगत अभाव हुँदा उपचारका लागि धरान, विराटनगर, बिर्तामोडसम्म जाने बाध्यता भएपछि उपचारमा समस्यासँगै जोखिम बढ्छ ।
मङ्गलबार गोदावरी हस्पिटल उर्लाबारीमा भर्ना भएकी उर्लाबारी–५ निवासी रूपा मगरलाई रगतको अभाव भएपछि ताजा रगत निकालेर उपचार गरिएको नगरका वडासदस्य रविन लामाले बताए । उर्लाबारी केन्द्रका इञ्चार्ज प्रकाश चौधरीले फागुन महिनामा रक्तदान नभएकोले केही दिनदेखि रगतको अभाव भएको बताए ।