धनकुटा/ जापान सरकारले जिल्ला अस्पताल धनकुटामा आकस्मिक उपचार सेवाका लागि अत्यावश्यक पर्ने अक्सिजन उत्पादन तथा वितरण प्रणाली उपलब्ध गराउने भएको छ ।
आकस्मिक कक्ष, सल्यक्रिया र अन्तरङ्ग विभागमा सोझै अक्सिजन पुर्याउन सकिने गरी ‘अक्सिजन जनेरेसन एण्ड डिस्ट्रिब्यूसन सिस्टम’ जडानसम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर गरिएको छ । जापानी राजदूत मासामिच साइगो र जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेण्डेन डा. अभिताभ ठाकुरले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा पूर्व आपूर्ति मन्त्री सुनिलबहादुर थापा पनि सहभागी थिए । सूर्यबहादुर थापा फाउण्डेशनमार्फत जापान सरकारको ग्रासरुट ह्यूमेन सेक्यूरिटी प्रोजेक्ट (जीजीपी) मार्फत् अक्सिजन प्लान्टका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको ठाकुरले बताए ।
जिल्ला अस्पतालमै अक्सिजन उत्पादन तथा वितरण प्रणाली जडान हुने भएपछि शल्यक्रिया र जटिल रोगका बिरामीलाई तत्कालै धरान र विराटनगरका अस्पताल पठाउनु पर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ ।