विराटनगर / मोरङको बेलबारी नगरपालिका–४ की २६ वर्षीया रमिला राईको हत्या गरेर सप्तकोसी नदीमा शव फ्याँकेको आशंका गरेर दुई दिनयतादेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली डुङ्गासहित खोजविन गरेपनि शव भेटिएको छैन् ।
रमिलाको हत्या गरेको आरोपमा पक्राउ परेका योगेन्द्र गुरुङले प्रहरीलाई दिएको बयानको आधारमा प्रहरीले सप्तकोशीमा दुई दिन यतादेखि शव खोजिबिन गर्दा पनि सोमबार साँझ सम्म नभेटेको हो ।
दुई दिनयता नेपाल प्रहरीको टोली डुङ्गासहित कोशी ब्यारेज केन्द्रित भए पनि शव भेटिएको छैन । प्रहरीले रमिलाको शव खोज्ने क्रममा शनिबार एउटा र आइतबार एउटा शव भेटिएको छ । शनिबार सप्तरीसँगको सीमा क्षेत्रमा पुरुषको शव भेटिएको थियो भने आइतबार सुनसरीतर्फ अर्धबैसे महिलाको शव भेटिएको थियो । तर उक्त शव रमिलाको थिएन । हत्याको प्रमाण संकलन गर्ने क्रममा दुई दिन यता इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईको नेतृत्वमा प्रहरीले ब्यारेजमा शव खोजिरहेको छ ।
प्रहरीले पक्राउ परेका गुरुङलाई बेपत्ता पारेको कसुरमा जिल्ला अदालत मोरङमा आइतबार म्याद थप गरि प्रहरीको हिरासतमा राखिएको छ । गुरुङविरुद्ध म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।
‘शव फेला परेको भए कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइने थियो,’ उनले भने, ‘तत्काल शव नभेटिएका कारण व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान थालिएको हो ।’ शव फेला परेपछि भने उनीमाथि कर्तव्य ज्यान मुद्दा पनि चलाइने एसपी केसीको भनाइ छ । हत्या गरेर कोसी ब्यारेजबाट शव सप्तकोसी नदीमा फालिदिएको बयान अनुसन्धानका क्रममा गुरुङले दिए पछि प्रहरीले गत शुक्रबारबाट खोजी गर्ने काम भइरहेको छ । तर फागुन १७ गते रातिबाट बेपत्ता भएकी रमिलाको शव फेला पर्न सकेको छैन ।
‘सीसी टिभीका केही फुटेजले बेलबारीका नेकपा नेता गुरुङ चढ्ने बा १५ च ७९१६ नम्बरको गाडी फागुन १७ गते राति इटहरीबाट पश्चिम लागेको देखाउँछ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘भोलीपल्ट विहान ४ बजेतिर गोठगाउँबाट पूर्व लागेको पुष्टि हुन्छ ।’ कोसी ब्यारेजमा रहेको सीसी टिभी फुटेजमा पनि राति १ बजेतिर गुरुङको उक्त गाडी पुल प्रवेश गरेको देखिन्छ । हत्या पछि रमिलाको शव सप्तकोशीमा ल्याएर फालेको अनुमागन गर्दै प्रहरीको टोली शव खोज्न यहाँ परिचालन भएका हुन् ।