यासोक/ पाँचथरको कुम्मायक गाउँपालिकाका विभिन्न वडामा स्वास्थ्य चौकीका सुविधायुक्त भवन निर्माण भएका छन् । स्वास्थ्य सेवाको पहुँचलाई ग्रामीण क्षेत्रमा पु¥याउने उद्देश्यअनुरूप तीन तहका सरकारले भवन निर्माण तथा चिकित्सकको दरबन्दी थप गर्दै आएका छन् ।
पछिल्लो समयमा कुम्मायक–२ माङ्जाबुङमा पनि सुविधायुक्त स्वास्थ्य चौकी भवन निर्माण भएको छ । लामो समयदेखि भवन अभावमा स्थानीयको घरबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्य सेवा अहिले बर्थिङ सेण्टरसहितको नवनिर्मित भवनबाट प्रवाह हुन थालेपछि स्थानीय हर्षित भएका छन् । शहरी विकास तथा भवन डिभिजन कार्यालय इलामको २ करोड १५ लाखको लगानीमा १२ कोठे बर्थिङ सेण्टरसहितको भवन निर्माण भएको हो ।
दुर्गम स्थानमा सुविधायुक्त भवन निर्माण भएपछि गर्भवती महिलाहरूको लागि पनि सहज भएको स्वास्थ्यसंस्थाले जनाएको छ । भवनमा बिरामीका लागि तातो पानीको व्यवस्था र विद्युत् नभएको समयमा समेत सौर्य ऊर्जाको व्यवस्था रहेको माङ्जाबुङका वडाअध्यक्ष बालकृष्ण शेर्माले बताए । स्वास्थ्यसंस्थालाई आवश्यक पर्ने थप उपकरण र सोलार सेट गाउँपालिकाले उपलब्ध गराउने भएको छ । गाउँपालिकाकै सुविधायुक्त भवन भएकाले पनि स्वास्थ्यसेवालाई नागरिकको पहुँचसम्म पुर्याउन वडा कार्यालयले घुम्ती शिविरको समेत व्यवस्था गर्ने शेर्माले बताए ।
गाउँपालिकामा स्वास्थ्यसेवालाई चुस्त दुरुस्त बनाउनको लागि प्रत्येक स्वास्थ्यसंस्थामा भिडियो एक्स–रे सेवा र खाली भएका दरबन्दीमा करार पदपूर्ति गर्ने काम गर्दै आएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । खानेपानीको समस्याका कारण महिलामा देखिएको पाठेघर र आङ खस्ने समस्या एवम् आँखासम्बन्धी समस्या समाधान गर्न आर्थिक वर्ष २०७५/७६ को बजेटबाट चैत्र १ र २ गते घुम्ती शिविरको आयोजना गरेको भन्दै उनले सबै वडाका स्वास्थ्य संस्थामा भिडियो एक्स–रे सेवामार्फत् गर्भवती महिलाहरूको गर्भ जाँचसमेत गर्दै आएको चेम्जोङले बताए ।
गाउँपालिकाको यासोक, माङ्जाबुङ र रानीगाउँ गरी तीन स्थानमा स्वास्थ्यको नवनिर्मित भवनबाट सेवा प्रवाह हुँदै आएको छ भने वडा नं. ४ रानीगाउँ र वडा नं. ५ स्याबरुम्बा स्वास्थ्य संस्थामा भने पुरानै भवनबाट सेवा प्रवाह हुँदै आएको गाउँपालिकाले जनाएको छ ।