धरान  / धरान उपमहानगरपालिका र १७ को आयोजनमा शनिबार रेल्वेचौकमा नशा, हाडजोर्नी तथा प्यारालाइसिसका विरामीहरुलाई निःशुल्क परीक्षण तथा औषधी वितरण गरिएको छ ।
निःशुल्क स्वास्थ्य शिविरमा धरान १७ का १ सय ५० भन्दा बढि बिरामीले स्वास्थ्य परीक्षण गराई औषधी समेत लिएको १७ नम्बर वडा सदस्य सुवास वर्देवाले जानकारी दिए ।
शिविरमा नशा, हाडजोर्नी तथा पक्षघात (प्यारालाइसिस) विशेषज्ञ चिकित्सक डा अनिलकुमार महतो, डा. अजय अनोलका साथै स्वास्थ्य प्राविधिकहरु मिला बस्नेत, रोजन श्रेष्ठ, सुस्मा रम्तेललगायतको टोली सहभागी थिए ।
खानपान, खाद्यपदार्थ आदिका कारण दिनप्रतिदिन मानिसको स्वास्थ्यमा गम्भिर प्रकारका रोगहरु देखा पर्न थालेकाले समयमा नै स्वास्थ्य परीक्षण गराउनु पर्ने डा. अनिलकुमार महतोले बताए ।
१७ नम्बर वडा अध्यक्ष सुर्यबहादुर भट्टराईले हरेक परिवारमा एकजना मात्रै स्वास्थ्यसँग परिचित भए पुरै परिवार स्वस्थ हुने र परिवार स्वस्थ भए समाज स्वस्थ हुने अपेक्षासहित स्वास्थ्य शिविर आयोजना गरिएको बताए । तस्विरः साैजन्यः तारा लाम्गादे