विराटनगर / विराटनगरको महेन्द्रचौकस्थित म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार खर्च तिर्न नसक्दा सुनसरी बरहाक्षेत्र नगरपालिकाको एक परिवार बन्धक हुनु परेको छ ।
बरहाक्षेत्र नगरपालिका – ९ प्रकासपुर घर भएकी सुरजा र बुद्धी चन्द्रवंसीले मृतक छोराको उपचार खर्च तिर्न नसक्दा उनीहरू अस्पतालमा बन्धक हुनु परेको हो । उनीहरू श्रीमान श्रीमति हुन् ।
चन्द्रवनसीको फागुन १३ गते इनरुवा अस्पतालमा छोरा भएको हो । नवजात छोराको टाउँकोमा पानी जमेको कारण सो अस्पतालमा उपचर सम्भव नहुने बताएपछि नोबेल मेडिकल कलेज ल्याएको सुरजाले बताए ।
छोराको उपचार एनआइसीयूमा राखेर उपचार गर्नुपर्ने भएपछि नोबेलमा एनआइसियू खाली नभएपछि म्याक्स हस्पिटल भर्ना गरिएको थियो । अस्पतालमा तीन दिन राखेपछि बिहीबार विहान अस्पतालले मृत घोषणा गरेको उनीहरुको भनाई छ । बिहीबार नवजात छोराको मृत्यु भएपछि शुल्क तिर्न ताकेता गर्दै अस्पतालले उनीहरूलाई अस्पताबाट बाहिर जान नदिएको सुरजाले बताए ।
एनआइसीयूमा राखेर उपचार गर्दा तीन दिनमा ७३ हजार ९ सय ५० रुपैयाँ बिल उठेको अस्पतालले जानकारी दिएको छ । आर्थिक अवस्था नाजुक रहेको चन्द्रवनसी परिवारले सयकडा ३ रुपैयाँ ब्याज काटेर ऋण ल्याएको ५० हजार रुपैयाँ मध्ये ४५ हजार रुपैयाँ अपस्पताललाई बुझाए । अस्पताललाई अझै २८ हजार ९ सय ५० रुपैयाँ बुझाए मात्र मृतक छोराको शव दिने र श्रीमान श्रीमतिलाई बाहिर जान नदिने गरेको सुरजाका दाई अमित चन्द्रवंशीले बताए ।
‘अस्पतालमा ४५ हजार र फार्मेसीमा ५ हजार बुझाएका छौ,’ सुरजाले भने, ‘अझै २९ हजार दिनुपर्छ भन्छन् ।’ उनले अस्पतालाई बुझाउने थप रकम आफूहरुसँग नभएको गुनासो गरे । अस्पतालले भने जति शुल्क बुझाउन नसक्दा मृतक छोरा लान नसकेको उनले बताए । अस्पतालको बिल तिर्न नसक्दा मृत अवस्थामा रहेका छोराकोे दाहसंस्कारसमते गर्न नपाएको उनले बताए । अस्पतालले तीन दिन देखि श्रीमान श्रीमतिको निगरानी गरेको उनीहरूले बताए ।
यता अस्पतालका अध्यक्ष शत्रुधन यादवले अस्पतालले केही शुल्क छुट दिने बताउदै उनले सम्पूर्ण उपचार खर्च मिनाह गर्न नसक्ने बताए । एनआइसीयुमा भेन्टीलेटरमा राखेर उपचार गरेको बताउदै लागेको सम्पूर्ण खर्च मिना गर्न नसकिने उनले बताए ।