इटहरी/ पछिल्लो समय इटहरीक्षेत्रमा परिवार नियोजनका अस्थायी र स्थायी साधन प्रयोग गर्ने बढ्दै गएका छन् । जनचेतना र सहज उपलब्धताका कारण अघिल्ला वर्षको तुलनामा परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्या वृद्धि भएको इटहरी प्राथमिक स्वास्थ्य केन्द्रको तथ्याङ्कले देखाएको हो ।
‘स्थायीभन्दा अस्थायी साधनका प्रयोगकर्ता बढी छन्’ –इटहरी प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिष्टेण्ट रामकुमार धमलाले भने । दोहोरो सुरक्षाका लागि कण्डमलाई धेरैले रोज्छन् । कण्डम प्रयोगकर्ताहरू वार्षिकरूपमा बढिरहेको उनी बताउँछन् । मासिक विवरण हेर्दा पनि कण्डम प्रयोग गर्नेहरूको संख्या बढिरहेको स्वास्थ्य संस्थाको तथ्याङ्कले देखाएको छ ।
स्वास्थ्य केन्द्रको तथ्याङ्कअनुसार परिवार नियोजनका साधनमध्ये सबैभन्दा बढीले कण्डम प्रयोग गर्ने गरेका छन् । आर्थिक वर्ष ०७३/७४ मा ६२ हजार गोटा कण्डम वितरण भएको छ । त्यस्तै आर्थिक वर्ष ०७४/७५ मा ७२ हजार गोटा कण्डम वितरण भएको तथ्याङ्कले देखाउँछ । त्यस्तै चालू आर्थिक वर्षको अहिलेसम्म ३९ हजार ६ सय गोटा कण्डम वितरण भएको अस्पतालले जनाएको छ ।