इटहरी/ इटहरी उपमहानगरपालिका तथा सुन्दरदुलारी नगरपालिका क्षेत्रभित्र रहेका १ दर्जन बढी माइक्रोफाइनान्स र स्थानीय तहका पदाधिकारीबीच एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम इटहरीमा रहेको पाथीभरा एड्भरटाइजिङ प्रालिको आयोजना र स्वदेशी लघुवित्त, सपोर्ट लघुवित्त, ग्रामीण विकास लघुवित्त, छिमेक लघुवित्त, नाडेप लघुवित्त, नेशनल माइक्रो फाइनान्स, मेरो माइक्रो फाइनान्स, आशा लघुवित्त, सहारा नेपाल तथा जीवन विकास समाजको प्रायोजनमा भएको थियो ।
कार्यक्रममा सभापतिको रूपमा पाथीभरा एड्भरटाइजिङ प्रालिका सञ्चालक पवन अधिकारी, प्रमुख अतिथिको रूपमा इटहरी उप–महानगरपालिकाका नगरप्रमुख द्वारिकालाल चौधरी रहेका थिए भने विशिष्ट अतिथि नेपाल राष्ट्र बैङ्क, विराटनगरका निर्देशक विनोद आचार्य तथा अतिथिमा इटहरी उप–महानगरपालिकाका सबै वडाअध्यक्षहरू, पत्रकार, स्वदेशी र सपोर्ट लघुवित्तका प्रमुख कार्यकारी अधिकृत, अन्य लघुवित्तका शाखा प्रमुखहरू थिए । कार्यक्रममा ग्राहक सदस्यलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन इटहरी उपमहानगरपालिकाका नगरप्रमुख चौधरीले पानसमा बत्ती बालेर गरेका थिए । उद्घाटनलगत्तै नेपालको गरिबी न्यूनीकरणमा लघुवित्तको भूमिका विषयमा कार्यपत्र स्वदेशी लघुवित्तका नायव प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद न्यौपाने र समस्या र चुनौतीको सपोर्ट लघुवित्त वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत कुलमणि तिम्सिनाले प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै न्यौपानेले लघुवित्तको इतिहास, वर्तमान अवस्था, विकासमा लघुवित्तको योगदान, महिला सशक्तिकरण, ब्याजदर बारे गलत बुझाइ, स्थानीय तह र लघुवित्तको सहकार्यका बारेमा प्रष्ट पारेका थिए । त्यस्तै कार्यपत्र प्रस्तुत गर्दै तिम्सिनाले लघुवित्तका समस्या र समाधानको विषयमा प्रष्ट पारेका थिए ।

प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै टिप्पणीकारका भूमिका निर्वाह गरेका कस्तुरी कलेजका प्राचार्य तथा नागरिक समाजका पूर्वअध्यक्ष कमलेश शर्मा पौडेलले कार्यक्रमले लघुवित्तप्रति रहेको भ्रम चिर्न सहज भएको, स्थानीय तहसँग सहकार्य अपरिहार्य रहेको, लघुवित्तले प्रदान गर्ने विनाधितो कर्जामाथि सम्बन्धित निकायबाट निगरानी गर्नुपर्ने विषयमा टिप्पणी गरेका थिए । टिप्पणीकारको टिप्पणीपछि पत्रकार तथा अन्य सहभागीको खुल्ला टिप्पणी गर्दै लघुवित्त संस्थाले पनि उचित कर्जा सूचना लिई कर्जा प्रवाह गर्न सुझाव दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख द्वारिकलाल चौधरीले यस क्षेत्रमा रहेका लघुवित्त संस्थाहरूसँग सहकार्य बढाउने तथा आवश्यक सहयोग गर्ने वचन दिएका थिए ।

विशिष्ट अतिथि नेपाल राष्ट्र बैङ्क विराटनगरका निर्देशक विनोद आचार्यले कारोबार गर्दा लघुवित्तको उद्देश्यअनुसार गर्न लघुवित्त संस्थाहरूलाई निर्देशन दिँदै स्थानीय निकायले क्षमता विकास तालिम प्रदान गर्ने तथा लघुवित्तले कर्जा लगानी गर्दा उपयुक्त हुने विचार राखे ग्रामीण गरिबीभन्दा शहरी गरिबी आफूले झन् विकराल पाएको भन्दै यसतर्फ विशेष ध्यान दिन सरोकारवाला निकायलाई आग्रह गरे । आफ्नो मन्तव्यको क्रममा स्वदेशी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाईले लघुवित्त गरिबी निवारण र विपन्नवर्गको आर्थिक विकासमा अहोरात्र लागिरहने भएकोले आगामी दिनमा स्थानीय निकायबाट आवश्यक सहयोग मिल्ने अपेक्षा गर्र्दै कार्यक्रम सफल पार्न सहयोग गरेकोमा सबै सहभागीलाई धन्यवाद दिए ।


कार्यक्रममा ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका क्षेत्रीय प्रबन्धक गोपालप्रसाद अधिकारी, पत्रकार महासङ्घ सुनसरी सभापति अमर खड्का, पत्रकार विवेक भट्टराई, पाथीभरा एड्भरटाइजिङ प्रालिका प्रबन्धक गणेश निरौलालगायतले गरिबी निवारणका क्षेत्रमा लघुवित्तहरूले खेलेको भूमिकाका विषयमा चर्चा गरेका थिए । कार्यक्रमका सभापति तथा पाथीभरा एड्भरटाइजिङ प्रालिका कार्यकारी प्रमुख पवन अधिकारीले यस्ताखाले कार्यक्रमहरूले समाज रूपान्तरणमा ठूलो भूमिका खेल्ने बताए । उनले वित्तीय क्षेत्रहरूसँगको सहकार्यमा आगामी दिनमा यस्ताखालका कार्यक्रम सञ्चालन गर्न प्रेरणा मिलेको धारणा राखेका थिए ।