बिर्तामोड / अपेक्षा गरेको भन्दा उत्कृष्ठ तरिकाले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सञ्चालन भइरहेको आयोजकले जनाएको छ ।
आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अनुसार महोत्सव उद्घाटनका दिन उल्लेख्य उपस्थिति नभए पनि त्यसपछिका दिनमा किनमेल गर्नेहरुको घुइँचो बढेको हो ।
‘सुरुका दिनमा सोचेजस्तो उपस्थिति भएन, भोलिपल्टदेखि संख्या बढेको बढ्यै छ,’ बिर्तामोड उद्योग वाणिज्य सघका उपाध्यक्ष नारायण चिमरियाले भने, ‘यसरी नै संख्या बढ्दै जाने हो भने हामी लक्ष्यमा पुग्नेछौँ ।’ मेलामा नयाँ-नयाँ सामाग्री पाइएका कारण सर्वसाधारणको आकर्षण बढेको उनको भनाइ छ । जुम्लाको काली मार्सी चामल किन्नैका लागि महोत्सव आउनेहरुको संख्या पनि उल्लेख्य रहेको उपाध्यक्ष चिमरियाले जानकारी दिए ।
‘महोत्सवमा लेदरका आइटमहरु खोज्दै आउनेहरु पनि हुनुहुन्छ,’ संघका अर्का उपाध्यक्ष राजु न्यौपानेले भने, ‘वाणिज्य संघले धेरै ठूलो नाफाको उद्देश्य राखेर होइन, पर्यटन प्रबद्र्धन गर्न र व्यापारीलाई उत्साह दिन महोत्सव आयोजना गरेको हो ।’ आदिबासी जनजातीको स्टलले मेलालाई अझ आकर्षक बनाएको आयोजकको भनाइ छ ।
यस्ता स्टल हेर्न, फोटो खिच्न र रम्न आउनेहरुको संख्या पनि उत्तिकै छ । बिर्तामोड-५ का डम्बर बिमलीले बिर्तामोड महोत्सव राम्रो र व्यवस्थित भएको प्रतिक्रिया दिए । बजारभाउ भन्दा सस्तो र गुणस्तरीय सामाग्री किन्न पाइएको उनको भनाइ छ ।
विशेष चाडपर्वमा पकाइने सेलरोटी बिर्तामोड महोत्सवमा भने स्टल राखेरै बिक्री गरिँदैछ । बिर्तामोड उद्योग वाणिज्य संघको भ्रातृ संगठन महिला उद्यमी समूहले राखेको स्टलमा सेलरोटी खानेहरुको घुइँचो छ ।
सेलरोटीको व्यापार आफूहरुले सोचेभन्दा राम्रो भएको महिला उद्यमी समूहकी सचिब संगिता चिमरियाले बताइन् । यो स्टलमा सेलरोटी, अचार, तरकारी र चिया पाइन्छ ।
‘एकै दिनमा २७ हजार रुपैयाँसम्मको सेलरोटी बेचेका छौँ,’ उनले भनिन्, ‘अहिलेसम्म सबैबाट प्रशंसा मात्र पाइरहेका छौँ ।’ व्यापारबाट आएको पैसा परोपकारी काममा खर्च गर्ने समूहको लक्ष्य छ । यो समूहमा २१ जना उद्यमी महिला छन् ।