इनरुवा/ ट्राफिक प्रहरी कार्यालय इनरुवाले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १९ लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गर्ने तथा अटेर गर्ने सवारी साधन कारवाहीवापत १९ लाख ५६ हजार राजश्व सङ्कलन गरेको इनरुवा ट्राफिक कार्यालयले जनाएको छ । ट्राफिक इञ्चार्ज भोजकुमार कट्टेलका अनुसार ६ महिनाको अवधिमा २ हजार ९ सय सवारी साधन कारबाहीमा परेका छन् ।

ट्राफिक नियम बमोजिम कारवाहीमा परेका सम्बन्धित सवारीका चालक तथा धनीबाट राजश्व असुली गरिएको कट्टेलले बताए । पछिल्लो राजश्व सङ्कलन अघिल्लो ६ महिनाको तुलनामा ३० प्रतिशतले बढी हो ।

सवारीको चापमा वृद्धिसँगै ट्राफिक नियम उल्लङ्घन गर्नेहरूबाट सङ्कलन हुने राजश्वमा समेत वृद्धि भएको ट्राफिक प्रहरी कार्यालय इनरुवाले जनाएको छ । इनरुवा क्षेत्रमा सबैभन्दा बढी टिपर कारवाहीमा परेका छन् ।

तीव्र गति, ओभर लोड, मापसे र कागजात नभएको अवस्थाका टिपर चालक कारवाहीमा परेको कट्टेलले बताए । टिपरसहित इनरुवा क्षेत्रमा ४ सय ५१ वटा ट्रक कारवाहीमा परेका छन् ।

त्यस्तै ३ सय ५० यात्रु बस, २ सय ३२ ट्याक्टर, कारजीप ६ सय ४१ र ८ सय ५१ वटा मोटरसाइकलसहित सीटी, अटो रिक्सा र टेम्पो गरी ६ सय वटा ट्राफिक नियम उल्लङ्घन तथा अटेर गर्ने साधनलाई कारवाही गरिएको कट्टेलले जानकारी दिए ।

ट्राफिक प्रहरी कार्यालय इनरुवाले विद्यालय र सडक केन्द्रित ४० वटा जनचेनामूलक कार्यक्रम गरेको जनाएको छ । इनरुवा नगर क्षेत्रभित्र पछिल्लो ६ महिनाको अवधिमा सानाठूला गरी ४२ वटा दुर्घटना भएका छन् । जसमा ८ जनाले ज्यान गुमाएका थिए भने ५१ जना सामान्य घाइते भएका छन् ।