रङ्गेली/ माघ ९ गतेदेखि १ महिनासम्म विराटनगरमा जुत्ता मेला सञ्चालन हुने भएको छ । विराट एक्सपो नाम दिएको उक्त मेलामा नेपालका १० जुत्ता उत्पादक कम्पनीहरू सहभागी हुने भएका छन् । नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको मेला आयोजकले जनाएको छ ।

नेपालमा ३२ अर्बको जुत्ताको कारोबार भइरहेको जुत्ता घरका अध्यक्ष एवम् मेलाका संयोजक होमनाथ उपध्यायले बताए । जसमा प्रत्यक्ष १६ अर्ब नेपाली लगानी रहेको छ । यस क्षेत्रमा ६० हजारले रोजगारी पाएको उनले बताए । उनले नेपालमा जुत्ताको आयातलाई प्रतिस्थापन गर्नु मेलाको उद्देश्य रहेको बताए ।

नेपाली जुत्ता उद्योगले अहिले पनि दक्ष जनशक्तिको अभाव भोगिरहनु परेको उनले बताए । जुत्ता–चप्पलका लागि आवश्यक ७० प्रतिशत कच्चा पदार्थ बाहिरबाट आयात गर्नु परेको उनले बताए ।

एक महिनासम्म सञ्चालन हुने मेलामा १५ देखि ६० प्रतिशतसम्म छुट दिइने उनले बताए । अघिल्लो वर्ष पनि सञ्चालन भएको मेलाले २ करोडको कारोबार गरेकोमा यस वर्ष पनि त्यति नै कारोबार गर्ने लक्ष्य रहेको आयोजकले बताए ।

मेलाको २ लाख उपभोक्ताले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । एकैथलोमा फरकफरक उत्पादनका बारेमा जानकारी लिन सकिने आयोजकको भनाइ छ ।