यासोक/ पाँचथरको कुम्मायक गाउँपालिका वडा न. ५ मा विहानको मिरमिरे उज्यालोमा महिलाहरुको एक हुल ओरालो झरिरहेको देखिन्छ ।

छुट्न लागेको बस पक्रने हतारो झै बस्ती भन्दा ४ किलोमिटर तल झर्ने महिलाको लस्कर छलंग उज्यालो हुदा प्युठिउमा डोका बोक्दै उकालो चढ्दै गरेकोे दृश्य देखिन्छ ।

एक थोपा पानीका लागि त्यो गाउँमा महिलाहरुले त्यसरीनै संघर्ष गरेको वर्षौ भयो । समयले छाड्यो तर पानीको दुखले झन च्याप्दै लगेको छ । पुरुषहरु घरमा छैनन् । पानीको जोहो गर्ने देखि घरधन्दा पनि महिलाको जिम्मा ।

बच्चा सुतेको मैका छोपेर पानी लिन गयो फर्केर नआउदासम्म चिन्ताले सताउँने गर्दछ । सुख्खाग्रस्तक्षेत्रमा पानी महिलाको साझा समस्या भएको छ । पानीको जोहो, घरधन्दा र खेतवारीको काम गर्दा कहिले काही बिरामी भएर अस्पताल जानुपरेको पीडा कुम्मायक-५ की रुमा बोहोराको छ ।

बिहान उठेदखि राती अवेरसम्म घरको कामले फुर्सत हुर्दैन् छोराछोरी कहीलेकाही विद्यालय जान पाउँदैनन बोहोराले भनिन् । उनि मात्रै होइनन् गाउँपालिकामा महिलाहरुको पीडा सही नसक्नुको छ ।

नाम नबताउने सर्तमा स्थानीय एक महिलाले भनिन् ‘पानी बोक्दा धेरै समस्या हुन्छ । सरिरको ख्याल गर्नुपर्ने समयमा ध्यान पुर्याउन नसक्दा तिन महिनाको गर्भ नै खेर गयो ।

पानी लिनको लागि ५ किलोमिट जानुपथ्र्यो, कामको चाप र दिनहुँ पानी बोक्ने कारणले गर्दा गर्भ नै खेर जानपुग्यो । अहिले सबै पशुचौपाय बेचर खानको लागि मात्रै पानी बोक्ने गरेको छु उनले भनिन् ।

कुम्मायक गाउँपालिकामा खानेपानीको मुख्य असर महिलामा परेको छ । बिहान उठेदेखि बेलुका अवेरसम्म पानीमै समय छुट्याउनु पर्ने बाध्यताका कारण अधिकाम्स महिलाहरुमा सारीरिक समस्याहरु परेको यासोक स्वास्थ्य चौकीकी सिनियर अनमी इन्द्राकुमारी राइले बताइन् ।

पुरुष बैदेशीक रोजगारीमा जाने र घरायसी कामकाज महिलाले नै गर्दा उनिहरुमा गम्भिर प्रकृतिका स्वास्थ्य समस्या देखा परेको छ । पानी बोक्दा बोक्दै ग्याष्टिक ढाड् र हातका नसाहरुको समस्या देखा परेको राइले बताइन् ।

आर्थिक अवस्था कम्जोर भएका बिपन्न समुदायका महिलाहरुलाई पानीको समस्याले ठुलो असर गरेको छ । दैनिक ज्याला मज्दुरी गर्ने समयमा पानी बोक्दा नै दिन बित्ने गरेको कुम्मायक-५ की भद्रमाया खड्काले बताईन् ।

दिनभरी चाहार्दा चाहार्दै पानी त जसो तसो जुट्यो तर काम भने छुट्यो । ६ जनाको परिवारमा दैनिक २ गाग्रो पानी आवश्यक पर्छ । त्यो जुटाउन पनि हम्मे हम्मे हुन्छ । खडकाले भनिन् ।

जहाँ पानीको दुःख छ त्यहाँ एक महिलाले एक बर्षमा १ हजार ७ सय किलोमिटर यात्रा पानीका लागि नै तय गर्नुपर्ने देखिन्छ । पानीसँग जोडिएको महिलाहरुको दुःख कुम्मायक गाउँपालिका उपाध्यक्ष सिता आचार्यलाई पनि राम्रोसंग थाहा छ ।

छोराछोरीको लालन पालनदेखि सारा काम महिलाले नै गर्दा सारीरिक र मानसिक रुपमा महिलानै पीडित बन्नुपरेको आचार्यले बताईन् ।

प्रदेश सरकारले डिप बोरिङमार्फत सुख्खाक्षेत्रमा पानी निकालेको छ । त्यसको व्यवस्थापन गरेर अहिले देखा परेको खानेपानीको समस्यालाई अल्पकालीन रुपमै भएपनि सम्बोधन गर्ने पक्षमा गाउँपालिका र प्रदेश सरकार पुगेको कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

जिल्लाको सुख्खाग्रस्तक्षेत्र कुम्मायक र तुम्बेवा गाउँपालिकामा खानेपानी समस्या सम्बोधनको लागि नेपाल सरकारले सुख्खाक्षेत्र घोषणा गरी बृहत तमोर लिफ्ट खानेपानी योजना सञ्चालन गरेको छ ।

यो समस्या धेरै समय महिलाले भोग्नु नपर्ने खानेपानी बिभागले जनाएको छ । देशका केही भुभाग सुख्खाक्षेत्र भएकाले एउटी महिलाले खानेपानीका लागि घण्टौ लगाउँनु पर्ने समस्या समाधानको लागि संघ, प्रदेश र स्थानीय सरकारले काम गर्दै आएको छ ।