ताप्लेजुङ/“पहिले आरा (परम्परागत रुपमा काठ चिर्ने औजार) ले काठ काटेर घर खर्च जुटाईन्थ्यो । अहिले त काठ काट्ने मेसिन आयो, पैसा कमाउने बाटो नै हरायो” ताप्लेजुङको सिरिजंघा ७ का धनबहादुर सार्कीले विगत सम्झीदै भने ।

काम गर्न सक्ने उमेर देखि नै काठ काटेर गुजारा चलाउदै आएका धनबहादुरको घरमा अहिले खिया लागेको अवस्थामा काठ चिर्ने आरा झुण्डिएको छ । दुई/तीन वर्ष अघि सम्म उक्त आरा धनबहादुरको काँधमा हुन्थ्यो । घर देखि एक दिनको पैदल दुरीमा समेत काँधमा आरा बोकेर काठ काट्न हिड्ने गर्थे धनबहादुर ।

यता सोही ठाउँकै भीम लिम्बू भन्छन्–“त्यो समयमा काठ काटेरै कमाएको पैसाले घर बनाईयो, जस्तापाताले घरको छाना ओढाईयो अहिले आराले काठ काट्ने जमाना हरायो हातमा भएको सीप प्रयोग गर्न नपाउँदा पैसा कमाई गर्ने बाटो नै बन्द छ ।”यता सिदिंवा गाउँपालिका का दलबहादुर मंरातीको कुरा पनि उस्तै छ ।

“अहिले गाउँगाउँमा काठ चिर्ने मेसिन चलाउन थाले, हाम्रो आरा घरमै थन्कियो” दलबहादुर भन्छन् । उनिहरुले काठ काटेरै महिनामा १५/२० हजार सम्मको कमाई गर्थे । यि तीन जना आरावाल त उदारण मात्रै हुन् । आराले काठ काट्ने सीप बाट नै गुजारा गरिरहेका पहाडी क्षेत्रका सयौँ मजदुरको रोजगार काठ चिर्ने मेसिनले खोसिदिएको छ ।

पछिल्लो समय सहज र सरल तरिकाले काठ काट्नका लागि मेसिनको प्रयोग हुन थाले पछि काठ काट्ने मजदुरहरुले काम पाउनै छाडेका छन् । पहिले घर तथा भवन निर्माणका लागि चाहिने काठ काट्नका लागि ठेक्का दिएरै आरावाललाई काठ काट्न लगाईन्थ्यो ।

अहिले मेसिन किन्न सक्नेले मात्र काठ काट्ने काम पाउने गरेका छन् । ७० हजार भन्दा बढिको लगानीमा मेसिन खरिद गर्ने आँट प्राय आरावालमा छैन् । कतिपयले मेसिन किन्न सके पनि उनिहरुमा मेसिन चलाउने सीप छैन । मेसिन चलाउने सीपका लागि तालिम र औजार खरिदमा कतैबाट सुविधा पाए सहज हुने उनिहरुको भनाई छ ।

घरमा आरा थन्क्याएर बसेका स्थानीय कुमार गुरुङ भन्छन्–“मेसिन खरिद र मेसिन चलाउने सीप विकासका लागि कतैबाट सुविधा पाए हामी जस्ता गरिवले भौतारिनु पर्ने थिएन ।”

आजकल ग्रामिण क्षेत्र सम्म काठ चिर्ने मेसिन पुगेको छ । धेरै झन्झट नहुने साथै चाँडो र सरल तरिकाले काठ चिर्ने भएकाले काठ चिर्ने मेसिनको प्रयोग वढ्दै गएको छ । आराले काठ काट्नेको रोजगार हराए पनि अर्का तिर मेसिन किनेर काम गर्नेहरुले भने मनग्य आमदानी लिने गरेका छन् ।

मेसिन खरिद गरेर यसरी काम गर्दै आएका सिरिजंघा ७ कै यामकुमार सार्कीले राम्रो सित काम पाउँदा महिनामा ६०/७० हजार रुपैँया सम्म कमाई हुने गरेको बताए । मेसिनले ठुल–ठुला रुखहरु पनि सहजै तरिकाले चिर्ने भएकाले काम गर्न निकै सहज हुने प्रयोगकर्ताहरुको भनाई छ ।

आराले काठ काट्दा आरा धरान थापेर त्यस माथी मुढा राखेर दुई जनाको सहायताले चिरिन्छ । यो धेरै झन्जटिलो पनि छ । तर मेसिनको प्रयोगले एकै जनाले पनि काम गर्न सकिन्छ ।