काठमाडौं / पूर्व वनमन्त्री तथा कालिका कन्ट्रक्सनका संचालक विक्रम पाण्डे भ्रष्टाचार मुद्दामा चार करोड अदालतमा धरौटी बुझाएर मुक्त भएका छन् । विशेष अदातलले पाण्डेसँग धरौटी माग गरेको थियो । आजै अदातल हाजिर भएका पाण्डेले ग्लोबल बैंकको बैंक ग्यारेन्टी राखेपछि धरौटीमा रिहा भएकोे विशेष अदालतले जानकारी दिएको छ ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलाशले पाण्डेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्रपाका नेता पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा मंसिर २१ गते भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
अख्तियारले सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै मुद्दा आयोजना प्रमुखसहित अन्य विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक पूर्वमन्त्री पाण्डेसहित तत्कालीन आयोजना प्रमुखहरु सरोजचन्द्र पाण्डित, दिलिपबहादुर कार्की र रमेश बस्नेत, सिडिई मीनराज ढकाल, सूर्यदेव थापा, यागेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी र प्रकाशबहादुर कार्कीलाई पनि विपक्षी बनाइएको थियो ।
पूर्वमन्त्री पाण्डेसँग २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै बिगो अदालतले दाबी गरेको थियो । सिक्टा सिँचाई आयोजनाको मूलनहर भत्किएको, मूलनहरको डिजाइनमा नै त्रुटि गरेको तथा निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेन्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको हुँदा गुणस्तरीय काम हुन नसकेको अख्तियारको दावी छ ।