धरान । चिकित्सा शिक्षा सुधारको माग राखेर १६ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य स्थिति बुझ्नका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारजना डाक्टरहरू इलाम प्रस्थान गरेका छन् ।
डा. केसीले १६ औं सत्याग्रह इलामबाट शुरु गरेका छन् । बुधबारदेखि अनसन थालेका डा. केसीको स्वास्थ्य स्थिति नाजुक बनेपछि नैतिक समर्थनसहित स्वास्थ्य स्थिति बुझ्न त्यसतर्फ प्रस्थान गरेका हुन् । जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी बीपी प्रतिष्ठानको टोलीमा अध्यक्ष कविराज पोखरेल, डा. डेनप्रसाद आचार्य, राजीव न्यौपाने र अरुण सापकोटा रहेका छन् ।
उनीहरू सबै जुनियर रेजिडेन्टहरू हुन् । अध्यक्ष पौडेलका अनुसार त्यहाँ पुगेर डा. केसीको अवस्थाको बारेमा जानकारी लिने, नैतिक समर्थन गर्ने र स्वास्थ्य स्थिति पनि चेकजाँच गर्ने रहेको छ ।
यसैक्रममा उपचारमा संलग्न चिकित्सक डा. विजेन्द्र साहले डा. केसीलाई तत्कालै आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको बताए । उनको मुटुको चाल तथा फोक्सोमा समेत इन्फेक्सन भइरहेको डा. साहको भनाइ छ । उनलाई आइतबारबाट इलाम अस्पतालमा भर्ना गरिएको छ ।