अर्जुनधारा/अर्जुनधारा नगरपालिकाको आयोजना, रोट्राक्ट क्लब बिर्तामोड मिडटाउनको प्राबिधिक सहयोग र हर प्याडको सहजिकरणमा अर्जुनधारा नगरपालिकामा बेरोजगार गृहणी महिलालाई लक्षित गरि सेनेटरी प्याड बनाउन तथा बजारीकरण गर्न तालिम दिईएको छ ।

महिलाहरुलाई हुने मासिक श्राव (महिनावारी)का समयमा अति आवश्यक सेनेटरी प्याड बनाउन तथा बिक्री वितरणको व्यवस्था गर्न ५ वडाकै महिला सहभागी हुने गरि ३० जनालाई तालिम दिइएको हो ।

घरायसी कपडाको प्रयोग गर्दा निम्तीने स्वास्थ्य समस्या र बजारमा पाईने प्याड प्रयोगमा हुने खर्च कटौतीका लागि झापामा पहिलो पटक घरमै बनाउन सकिने र पुनः प्रयोग गर्न सकिने कपडाको प्याड बनाउन तालिम दिइएको हो ।

हर प्याडका तर्फबाट तिर्थराज कोइराला र श्रेया थापाले सेनटरी प्याडको महत्व, तथा कपडाको प्याड बनाउने तरिका र त्यसको बीक्री लगायतका विषयमा सहजीकरण गरेका थिए । “सामान्य तया महिलालाई महिनावारी हुदा एक वर्षमा २६० वटा प्याडको प्रयोग गर्नु पर्छ, बजारमा किन्दा ३५०० रुपैया खर्च हुन्छ, अब हाम्रो खर्च जोगिएको छ“ तालिममा सहभागी एक महिलाले बताइन्।

तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला आचार्यले सेनेटरी प्याड निर्माणसँगै यसको बजारीरकणका लागि सामुहिक पहलको आवश्यकता औल्याईन् । व्यवसायिक निरन्तरताले आत्मनिर्भर बनाउन मदत पुग्ने भन्दै उनले आगामी दिनमा नगर स्तरमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्नेमा विश्वास व्यक्त गरिन्।

सिपविकासका यस्ता कार्यक्रमहरुले महिलाहरुको आर्थिक स्तर उकास्ने कार्यक्रमकी सयोजक कमला देवी भट्टराइले बताइन्। तालिमको समापनमा मन्तव्य राख्दै अर्जुनधारा ५ का वडा अध्यक्ष ध्यान बहादुर भारतीले महिलाहरुलाई सीपको भरपुर सदुपयोग गरी नगरपालिकालाई वातावरणमैत्री नगर बनाउन सहयोग गर्नसमेत आग्रह गरे ।

ग्रामिण उद्यम कार्यकमले गरेको तालिम दुइ दिन सम्म चलेको थियो। समापन कार्यकमको सञ्चालन भने उपभोगता समतिकी सचिव इन्दिरा भट्टराईले गरेकी थिइन्।
 प्रकृति न्यौपाने