धरान । मेक्सिकोमा एक मेयरलाई सपथ लिएको दुई घण्टापछि नै हत्या गरिएको छ ।

मेक्सिकोको ओलास्का राज्यको टलजिकोका मेयर अलेजेन्ड्रो अप्रिसिओलाई सपथ लिएको दुई घण्टापछि नै हत्या गरिएको हो । उनले स्थानीय समयअनुसार बिहीबार सपथ लिएको केही समयपछि आफ्ना समकक्षीसँगको छलफलमा जाने क्रममा हत्या गरिएको हो । हत्या किन र के कारणले गरियो भन्ने हालसम्म खुल्न नसकेको विदेशी सञ्चारमाध्यमले जनाएको छ । उनी सोही सहरको एक हलमा छलफलमा लागि जाने क्रममा एक अज्ञात बन्दुकधारीले अन्धाधुन्द चलाएको गोलीका कारण उनी गम्भीर घाइते हुन पुगेका थिए ।

मेयर अप्रिसियोसहित तीनजनामाथि गोली लागेको छ । उनीहरूलाई तत्कालै स्थानीय अस्पतालमा उपचारका लागि पु¥याइए पनि अप्रिसिओको मृत्यु भइसकेको चिकित्सकहरूले बताएका थिए । उनको गोली लागेका कारण आन्तरिक रक्तश्राव बढी भएका कारण मृत्यु हुन पुगेको उल्लेख छ । उनको दाहिने फोक्सोमा गोलीले छेडेको थियो । अन्य दुई जनाको अवस्था गम्भीर छ । उनीहरूको उपचार भइरहेको छ ।

अप्रिसिओले आफ्ना समर्थकहरूलाई धन्यवाद ज्ञापन गर्नका लागि बिहीबार कार्यक्रम गर्ने तयारीमा थिए । त्योभन्दा अघि नै उनीमाथि गोली प्रहार भएको थियो । सामाजिक सञ्जाल फेसबुक पेजमा खिचिएको एक भिडियोमा मेयर अप्रिसिओमाथि गोली प्रहार भएको स्थानमा दर्जनबढी नागरिकहरू रहेका थिए । कस्ले गोली चलाएको हो भन्ने यकिन गर्न सक्ने अवस्था उक्त प्रत्यक्ष भिडियोमा पनि देख्न सकिदैन ।

तर, एक ३४ वर्षीय व्यक्तिलाई अप्रिसिओको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । शंकास्पद ती व्यक्ति छिमेकी राज्य चिअपसको रहेको मेक्सिको प्रहरीले उल्लेख गरेको छ ।

विभिन्न विदेशी मिडियाको सहयोगमा