धरान / उन्नाइसौं अन्तर वडास्तरीय रेडबुल गोधुली फुटबल रनिङ कप शुक्रबारदेखि धरानको एन्फा एकेडेमीको खेल मैदानमा शुरु हुँदै छ ।

प्रतियोगितामा धरानका २ र ७ नम्बर वडाबाहेक अन्य वडा सहभागी छन् । प्रतियोगिताको उद्घाटन खेल धरान–१४ र ५ नम्बर वडाबीच हुने आयोजक गोधुली क्लबका अध्यक्ष देशकुमार राईले बताए । विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । त्यस्तै व्यक्तिगततर्फ बेष्ट प्लेयर, राइजिङ प्लेयर, बेष्ट डिफेन्स, म्यान अफ दी म्याच, बेष्ट गोलकिपर, बेष्ट कोच र सर्वाधिक गोलकर्तालाई पनि नगदसहित ट्रफी प्रदान गरिने छ ।

प्रतियोगिताको फाइनल माघ ५ गते हुने छ । स्थानीय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले २०५० सालदेखि प्रतियोगिता गराउँदै आइरहेको क्लबका उपाध्यक्ष सतिश केसीले जानकारी दिए । धरानको जेठो फुटबल प्रतियोगिता हो । हाल क्लबले आफ्नो जग्गासमेत खरिद गरिसकेको छ भने भवन निर्माणको चरणमा रहेको अध्यक्ष देशकुमार राईले बताए ।

प्रतियोगितामा धरान–१, ३, ४, ५, ६, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८, १९ र २० नम्बर वडाले स्पर्धा गरिरहेका छन् । यसअघिको साविक विजेता धरान–१७ हो । हालसम्म धरान–१९ ले ६ पटक उपाधि जितेको छ । त्यस्तै ८ ले चारपटक उपाधि उचालेको छ भने ११ ले तीनपटक र १८ ले २ पटक उपाधि उचालेको छ ।