भोजपुर/ जिल्लाको रामप्रशाद राई गाँउपालिका-२ बतासे स्थित मुलाबारीमा अर्गानिक अर्थोडक्स चिया प्रशोधन कारखाना निर्माण सम्पन्न भएको छ । थामडाडा टेक्के सिलिचुङ कृषि सहकारी संस्था लिमिटेड भोजपुरले चिया प्रशोधन कारखाना निर्माण सम्पन्न गरेको हो ।
कारखाना एक करोड लागतमा निर्माण गरिएको सहकारी संस्थाका केन्द्रिय अध्यक्ष गणेश राईले बताए । अर्गानिक अर्थोडक्स चिया प्रशोधन कारखाना निर्माणका लागी डेनिस सरकारको उन्नती परियोजनाले ८६ लाख आर्थिक सहयोग गरेको थियो ।
परियोजनाको ८६ लाख तथा संस्थाको १४ लाख लागतमा कारखाना निर्माण भएको राईले जानकारी दिनए । कारखाना उदघाटन भए पछि निकट भविष्यमा अर्गानिक अर्थोडक्स चिया प्रशोधन शुरु गर्ने संस्थाको लक्ष्य रहेको छ ।
पहिलो चरणमा टेम्के मैयुङ गाउपालिकामा रहेका बगान र व्लकहरुमा उत्पादित चिया प्रशोधन हुने सस्थाको योजना छ । अध्यक्ष राईका अनुसार कारखानाको उद्घाटन माघ महिना भित्रमा सम्माननिय राष्ट्रपति विद्या देवी भण्डारीबाट गर्ने संस्थाले कार्यक्रम तय गरिरहेको छ ।
“कारखाना उद्घाटनका लागी सम्माननिय राष्ट्रपति ज्युलाई आग्रह गर्छौ , उहाको कार्यव्यस्तता भएमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई द्धारा कारखाना उद्घाटन गर्ने तयारी छ” अध्यक्ष राईले भने ।
चिया ,चिराईतो , पाखाम्बेत लगाएत बहुमुल्य जडिबुटिको खेति विस्तारमा लागेको सहकारीले हाल भोजपुर र खोटाङ जिल्लाका विभिन्न ठाउमा १२ सय रोपनीमा चिया खेति विस्तार गरेको छ ।
खोटाङ जिल्लाको हतुवागढी , आम्चोक , रामप्रशाद राई , टेम्के मैयु , लगाएत गाउपालिकामा चिया खेति विस्तार गरेको छ ।
यस्तै खोटाङको खार्मी , पाथेका , बाक्सिला , सुङदेल ,कपासे , वाप्लुखा , फेदी , खार्ताम्छा लगाएत ठाउमा पनि चिया खेती लगाईएको छ । विभिन्न ठाउमा बगान तथा व्लक निर्माण गरि चिया खेति विस्तार भए संगै स्थानियले रोजगारी समेत पाएका छन् ।