धरान/३६ होलको समाप्तिमा प्रो. रवि खड्का सूर्य नेपाल इस्र्टन ओपन टुरमा प्रो. शिवराम श्रेष्ठलाई एक स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा उक्लिएका छन् ।

धरानको निर्वाणा कन्ट्री क्लब तथा गल्फ रिसोर्टमा बिहीबार दोस्रो दिनको खेलमा एक ओभर ७१ कार्ड बनाएका रविले नेपालमा नम्बर वन प्रो. शिवराम श्रेष्ठलाई एक स्ट्रोकले पछि पारे । समग्र ३६ होलको समाप्तिमा पनि १ स्ट्रोकले नै पछि पारेका हुन् । शिवराम दोस्रो दिन २ ओभर ७२ कार्ड बनाए । रविले ३६ होलको समाप्तिमा ३ अण्डर १३७ खेल्दा श्रेष्ठले २ अण्डर १३८ खेलेका हुन् । घरेलु एमेच्योर शुक्रबहादुर राईले दोस्रो दिन उत्कृष्ट प्रदर्शन गर्दै प्रो. रवि र शिवरामलाई १ र २ स्ट्रोकले पछि पारे । तर, समग्रमा भने उनी उनी रविभन्दा २ स्ट्रोकले पछि पर्दा शिवरामभन्दा एक स्ट्रोकले पछि छन् ।

एमेच्योरतर्फ शीर्ष स्थान कायमै गर्न सफल उनले कुल १ अण्डर १३९ कार्ड बनाए । सञ्जय लामालाई प्रो. विकास अधिकारीले दोस्रो दिन एक स्ट्रोकले पछि पारे पनि समग्रीमा २ ओभर १४२ खेले । दोस्रो दिन विकासले एक ओभर ७१ खेल्दा प्रो. लामाले २ ओभर ७२ खेले । उनीहरूसँग प्रो. भुवन नगरकोटी र प्रो. थामबहादुर राईले टाइ गर्न सफल बने । गतवर्ष प्रो. टर्न भएका घरेलु प्रो. शिवकुमार माझीले ३ ओभर १४३ खेलेका छन् । चार ओभर १४४ कार्ड बनाएका घरेलु प्रो. देवराज पाख्रिनले प्रो. दिनेश प्रजापतिसँग टाइ गरेका छन् ।

एमेच्योर युवराज भुजेल ५ ओभर १४५ कार्ड गर्दै प्रो. सूर्यप्रसाद शर्मा र कृष्णमान राजबाहकसँग टाइ गरेका छन् । ६ ओभर १४६ खेल्दै घरेलु प्रो. बलभद्र राई १२ औं स्थानमा छन् । प्रतियोगितामा ६ एमेच्योर तेस्रो दिनका लागि छनौट भएका छन् भने प्रो. तर्फ २२ जना स्पर्धामा उत्रिएका छन् । १५ ओभर १५५ खेलेका भुवनकुमार रोक्का र दीपक आचार्यले टाइ गर्दै तेस्रो दिनका लागि स्पर्धामा उत्रिएका हुन् ।

१८ होलको समाप्तिमा शीर्ष स्थानमा रहेका प्रो. खड्का र श्रेष्ठले दोस्रो दिन खड्काले एक कार्डले पछि पारेका हुन् । साविक विजेता श्रेष्ठले तेस्रो र सोह्रौं होलमा ड्राइभ खराब भएको बताए । ‘तेस्रो र सोह्रौं होलको ड्राइभ बिग्रियो ।’ उनले भने । रविले फ्रन्ट नाइनमा एक अण्डर ३५ खेल्दा ब्याक नाइनमा २ ओभर ३६ खेलेका थिए । उनले चौथो होलमा बुगी खेपे पनि आठौं र नवौं होलमा बर्डी गरेका थिए । ब्याक नाइनको दशौं र १२ औं होलमा बुगी खेपेका कारण २ ओभर ३६ खेल्न पुगे ।

श्रेष्ठले भने फ्रन्ट नाइनको दोस्रो होलमा बर्डी गर्दा तेस्रो होलमा डब्बल इगल खेपे । पुनः सातौं र नवौं होलमा बुगी खेप्दा आठौं होलमा बर्डी गर्दै ४ ओभर ४० खेले । ब्याक नाइनमा ११ औं, १२ औं, १५ औं, १८ औं होलमा बर्डी गर्दै २ कार्ड बचाए । १६ औं होलमा डब्बल बुगी खेपेका थिए । प्रो विकास अधिकारीले फ्रन्ट नाइनमा १ अण्डर ३५ खेल्दा ब्याक नाइनमा २ ओभर ३६ खेले ।

प्रो. लामाले फ्रन्ट नाइन इभन पार खेल्दा ब्याक नाइनमा १ ओभर ३५ खेलेका थिए । नेपाल गल्फ एसोसिएसनको आयोजनामा जारी प्रतियोगितामा २१ जना व्यवसायिक गल्फरले अङ्क तालिका अनुसार रकम प्राप्त गर्ने छन् । दोस्रो दिन १२ जना प्रो. प्रतियोगिताबाट बाहिरिएका छन् ।