बिर्तामोड/ मुटु रोगबाट पीडित झापाको अर्जुनधारा–२ की दिलकुमारी नेम्वाङको उपचार गर्नका लागि आर्थिक सहायताको अपील गरिएको छ ।
स्थानीयबासीले नेम्वाङ बचाउ समिति गठन गर्दै सहयोगको अपील गरेको हो । आर्थिकरूपमा बिपन्न नेम्वाङको जायजेथाबाट उपचार सम्भव नहुने भएपछि परिवारको अनुरोधमा स्थानीयले समिति गठन गरी सहयोगको याचना गरेको हो ।
नेम्वाङको मुटुको धमनीमा पाँचवटा पाइप हाल्नुपर्ने स्थानीय खगेन्द्र लिङदेनले जानकारी दिए । नेम्वाङको गंगालाल ह्दय रोग उपचार केन्द्रमा उपचार भइरहेको बताइएको छ । उनको उपचारका लागि ८ लाख रुपैंयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ । ६३ वर्षीया नेम्वाङका चारजना छोरा छन् ।
यस्तै विगत ३ वर्षदेखि दुवै मृगौला खराव भएर उपचार खर्च जुटाउन नसकेका झापा बिर्तामोड नगरपालिका–२ का ५२ वर्षीय पदमबहादुर कन्दङ्वाले उपचारमा सहयोग पुर्याइदिन सवैमा अपील गरेका छन् ।
कन्दङवाको उपचारका लागि राजु राईको संयोजकत्वमा पदमबहादुर कन्दङ्वा बचाउ अभियान समिति निर्माण गरी उनको उपचारमा सहयोग गरिदिन अभियान थालिएको बताइएको छ । उनी बिर्तामोडको बिर्तासिटी हस्पिटलमा विगत २ वर्षदेखि डायलसिस गराउँदै आएको बताउँछन् ।
आर्थिक अवस्था अत्यान्तै कमजोर भएका कन्दङ्वाको मृगौला प्रत्यारोपण गर्न २० लाख रुपैयाँ खर्च लाग्ने उनी बताउँछन् ।