देउराली । धरानमा सोमबार पसल तथा व्यावसाय बन्द हुनुपर्छ भन्ने विषयमा विवाद भएको छ ।

धरानको भानुचौकमा सोमबार व्याबसाय बन्द गर्ने बिषयमा व्यावसायी र अखिल नेपाल पसल तथा सेल्स मजदुर संघ, अखिल नेपाल ट्रेड यूनियनका प्रतिनिधिहरुवीच विवाद भएको हो ।

लामो समयदेखि धरानमा प्रत्येक सोमबार हुने गरेको पसल व्यवसाय बन्द हुदै आए पनि केही व्यवसायीहरुले पसल बन्द गरेका छैनन् । सो विषयमा मजदुरहरुले गुनासो गरे पछि विवाद भएको हो । विशेष परिस्थितिमा बाहेके प्रत्येक सोमबार धरान क्षेत्रका व्यापार व्यावसाय तथा पसल बन्द गर्न सुनसरी उद्योग वाणिज्य संघ धरानले पुस २ गते पत्रिकामा सूचनासमेत प्रकाशन गरेको थियो ।

संघले कुनै पसल बन्द गर्ने र खोल्ने भन्ने व्यवसायीहरुको स्वतनत्रता भएको तर मजदुरहरुलाई हप्तामा एक दिन भने विदा दिनु पर्ने संघका अध्यक्ष राजेन्द्र साहले जानकारी दिए । त्यस्तै अखिल नेपाल पसल तथा सेल्स मजदुर संघले पनि आइतबार एक सुचना प्रकासित गरी सोमबार व्यवसाय बन्द गर्न आव्हान गरेको थियो ।

आज सोको निरिक्षण गर्दा भानुचौकका केही पसलहरु खुल्ला भएको पाए पछि व्यवासयी र मजदुरविच विवाद भएको हो । बिबादमा अखिल नेपाल पसल तथा सेल्स मजदुर संघका प्रतिनिधि पसल तथा व्यावसाय बन्द नगर्नाले त्यहा कार्यरत कर्मचारीहरुले हप्तामा एक दिन पनि बिदा नपाउने भन्दै बन्द गर्न अनुरोध गरेका थिए ।

व्यावसायीहरुले आफुहरुले कर्मचारीहरुलाई हप्तामा १ दिन बिदा दिने गरेको र यदि उनीहरु काममा आए अतितिक्त पारिश्रमिक पनि दिने गरेको व्यवासयी संदिप श्रेष्ठले बताए । आफ्नो लगानी घर भाडा तिर्न समस्या हुने भएकाले मजदुरलाई विदा दिएर आफैले पसल खोल्ने गरेको उनले बताए ।