पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरे नगरमा स्वास्थ्य विमा कार्यक्रमका बारेमा जानकारी गराउने क्रममा वडा वडामा अभिमूखिकरण कार्यक्रम सञ्चालन भइरहेको छ ।
१ नम्बर प्रदेशको स्वास्थ्य विमा वोर्डले अघि सारेको कार्यक्रम अन्तर्गत नगरस्तीय अभिमुखीकरण सम्पन्न गरेपछि कार्यक्रम वडा वडामा पुगेको छ । कार्यक्रम गर्दै वडावासीलाई स्वास्थ्य विमाको फाइदा र विमा गर्ने तरिकाका बारेमा जानकारी गराउने काम भइरहेको छ ।
जस अन्तर्गत हालसम्म वडा नम्बर ४ र ९ मा अभिमुखिकरण सम्पन्न भएको छ भने शुक्रबार वडा नम्वर ५ र ६ को हसन्दहमा अभिमुखिकरण कार्यक्रम रहेको पथरी स्वास्थ्य चौकीका जगत मगरले जनाए । विपन्न समुदायलाई स्वास्थ्यको पहुँचसम्म ल्याउने कार्यक्रमको लक्ष्य रहेको कुरा प्रष्ट्याइएको उनले सुनाए ।
सहभागिहरुले विमा कार्यक्रमलाई झन्झटिलो हुनबाट मुक्त बनाउँदै उपचारको प्रथम विन्दुमा समेत डाक्टरको संख्या थपिनु पर्ने सुझाव दिएका छन् ।
शिक्षक रामप्रसाद न्यौपानेले भने ‘उत्तरपूर्वी मोरङका आधादर्जन बढी पालिकाले प्रथम विन्दुका रुपमा मंगलबारे अस्पताललाई तोक्ने भएपछि त्यहाँ हुने विरामीको चापलाई मध्यनजर गरेर डाक्टरहरु थपिहाल्नु पर्ने हुन्छ ।’ अभिमुखिकरण कार्यक्रम सञ्चालनपछि प्रत्येक वडामा १,१ जना विमा सहयोगी छनौट गरी उनीहरुमार्फत विमा कार्यक्रम अघि बढाइने छ ।
५ जनासम्मको परिवारका लागि वार्षिक रुपमा २ हजार ५ सय रुपैयाँ विमा गर्दा कुल ५० हजार रुपैयाँ बराबरको उपचार सेवा प्राप्त हुने छ । ५ जना भन्दा वढी सदस्य भएमा प्रति सदस्य ४ सय ५० रुपैयाँ थप गरी त्यसवापतको थप १० हजार रुपैयाँ बराबरको सेवा लिन सकिने विमाको प्रावधान छ ।
त्यसरी थप हुन आएको सदस्यबाट पनि १ लाख भन्दा बढी रकमको सुविधा नपाउने व्यवस्था छ । आँखा समस्याका लागि भने प्रथम विन्दुमै नभई विमा कार्यक्रम लागू भएको आँखा अस्पतालमा जान सकिने छ ।
विमा गरेपछि आफुलाई पायक पर्ने एमवीवीएस डाक्टर भएको अस्पतालाई उपचारको प्रथम विन्दु मान्ने र त्यसपछि रेफरल अस्पताल रोज्नु पर्ने प्रावधान रहेको विमा वोर्डस्थित प्रदेशका सहजकर्ता खेम अधिकारीले जनाए ।
पथरीशनिश्चरे नगरका लागि भने उर्लावारीस्थित मंगलबारे अस्पताललाई प्रथम विन्दु मानिएको छ । तर पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले तत्काललाई प्रथम विन्दुका रुपमा मंगलबारे अस्पताल भएपनि केही समयभित्र नगरमै एमवीवीएस डाक्टर सहितको अस्पताल निर्माणमा पहल भइरहेको जनाए ।
उनले अस्पतालका लागि वडा नम्बर २ मा साढे २३ कठ्ठा जग्गाको व्यवस्थापन गरेर संघीय सरकारसँग अस्पताल निर्माणको कुरामा टुङ्गो लाग्दै गरेको सुनाए ।