धरान/सुनसरी टेक्निकल कलेज धरानले शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदानमा १ सय २१ युनिट रगत सङ्कलन भएको कलेजका सञ्चालक लेखिराज सुब्बाले बताए । विगत ६ वर्षदेखि विद्यार्थीहरूलाई सामाजिक कार्यमा अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रम गर्दै आएको सञ्चालक सुब्बाले बताए । गत वर्ष ८० युनिट रगत सङ्कलन भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा भएको रक्तदानमा कलेजका सबै विभागका विद्यार्थीहरू सहभागी रहेको कार्यक्रम संयोजक एवम् प्राध्यापक प्राध्यापक अमित गुप्ताले बताए । अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रक्त सञ्चार केन्द्रमा अभाव रहेको थियो ।

केन्द्रमा हाल ए पोजेटिभ समूहको रगत अभाव भएको थियो । रक्तदान कार्यक्रमबाट ए पोजेटिभ समूहको ३७ युनिट रगत सङ्कलन भएको छ ।

कलेजले अनमी, सिमए, ल्याब एसिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट लेवल मेडिकल, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ, हेल्थ एसिस्टेन्ट र रेडियोलोजी विषय पढाउँदै आइरहेको छ ।