सिरहा/ सिरहाको मिर्चैयामा नेपाल टेलिकमको शाखा कार्यालय कायार्लय सहायककाे भरमा सञ्चालन भईरहेको छ । मिर्चैया नगरपालिका बडा नं. ७ स्थित रहेको कार्यालयमा दरबन्दि अनुसारको कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती भोग्नु परेका छन् । आवश्यक कर्मचारी नहुँदा कार्यालयका पालेले नै टेलिफोनको बिल बुझने गरेका छन् ।

कार्यालयमा दरबन्दि अनुसारको कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती भोग्नु परेका छन् । कार्यालयमा ६ जना कर्मचारीको दरबन्दि भएपनि अहिले ३ जना मात्र कर्मचारी रहेकोले काम गर्न समस्या भईरहेको कार्यालयका पाले ब्रह्म नारायण चौधरीले बताए ।

उनले भने 'यहाँ कर्मचारीको अभाव छ, त्यसैले हाकिमको काम पनि मलाई नै गर्नु पर्छ, म नै बिलु बुझ्छु, मेसिन बिग्रेपनि अलिअलि ठिकठाक पार्छु ।

कार्यालयका प्राविधिक राजु साहले भने 'यहाँ काम गर्न धेरै समस्या भईरहेको छ, कर्मचारी छैन्, हामी दुई जना प्राविधिकलाई मिर्चैया, कर्जन्हा र कल्याणपुर नगरपालिकामा फिल्डमा जानु पर्छ, स्रोत साधन पनि छैन, आवश्यक भएको स्रोत साधन उपलब्ध गराउन कार्यालय प्रमुखलाई भनेपनि सुनुवाई गर्दैन, ग्राहकको कुरा हामीलाई सुन्नु परेको छ ।

ग्राहकको माग अनुसार सेवा दिन नसकिरहेको अर्का प्राविधिक बिरेन्द्र साहले सुनाए । उनले भने 'करिव २० वर्ष पहिलादेखि पुरानै सिस्टममा कार्यालय सञ्चालन भईरहेको छ, ग्राहकको माग पुरा गर्न असमर्थ छ, जसोतसो एरियल कपरले धानेको अवस्था छ, अप्टिकल फाइबरको अवश्यक्ता छ, क्षमता बिस्तार गर्नुपर्छ, तर माथिल्लो निकायले ध्यान दिदैन ।

कार्यालयमा कामका लागि पुगेका मिर्चैया ६ का जितेन्द्र यादवले भने 'दुरसञ्चार कार्यालयमा टेलिफोन खराब भएको जानकारी गराउँदा पनि समयमा ठिक गर्न जाँदैन, महिनौँ दिन कुर्नु पर्छ अनि मात्र काम हुन्छ, के भन्नु यहाँ हाकिम को हो थाहै लाग्दैन, ईन्टरनेटमा समय समाप्त हुन ड्ट बाँकी छ तर पनि लाईन काट्यो, यहाँ हाकिमको लापरबाहीले यस्तो भईरहेको छ ।'

त्यसैगरी मिर्चैया ५ बस्ने रामबाबु महतोले भने 'टेलिफोनको लाईन १० दिनदेखि खराब छ, कार्यालयमा जाँदा कसैले कुरा सुन्दैन, अटेर गर्छ, बांगोटिंगो कुरा गर्छ, यस्तो अटेर कर्मचारीलाई सरकारले कारबाहीको दायरमा ल्याउनु पर्छ ।'

यता, कार्यालयका प्रमुख गजेन्द्र प्रसाद साहले कार्यालयको विषयमा पुर्ण रुपमा जानकारी नभएको प्रतिक्रिया दिएका छन् । उनले सञ्चारकर्मीको जिज्ञासामा बोल्न नचाहेर पन्छिन खोज्दै भने, 'मलाई आएको ४ महिना मात्र भएको छ, अहिले कतिपय कुरा बुझेको पनि छैन, तपाईहरुलाई त थाहै छ, हेर्नु भो के कसो छ, यहि हो यस्तै छ, के भन्नु, बरु अर्को दिन आउनुस म तयार गरेर राख्छु, तपाईहरुलाई भन्न कागज खोजेर राख्छु ।'

२०५६ सालमा स्थापना भएको नेपाल टेलिकम मिर्चैया शाखाले ग्राहकलाई आवश्यक सेवा सुबिधा दिन नसक्दा कपिपय टेलिफोनको लाइन बन्द भईसकेका छन् भने कतिपय बन्द हुने अवस्थामा छ । ग्राहकले माग गरेको नयाँ लाइन पनि स्रोत साधनको अभावमा जडान गर्न नसकिरहेको कार्यालयका एक कर्मचारीले बताए ।

टेलिकममा करिव १ हजार टेलिफोनको लाईन जडान भएपनि कार्यालयका लापरबाहीका कारणले करीब ७ सय लाईन मात्र सुचारु छन् भने ३ सय लाईन बन्द भईसकेको अवस्था छ ।

नेपाल सरकारको प्रत्यक्ष चासो रहेको यस कार्यालयमा जथाभावी रुपमा लहरा लत्रेको र पुराना समानहरु जथाभावी कार्यालयको प्रांगणमा फालिएकोले कार्यालय कुरुप बनेका छन् । कुनै पनि कार्यालयमा सबैले देखिने गरी नेम प्लेटको बोर्ड लगाउनु पर्ने प्रावधान रहेपनि कार्यालयमा बोर्ड पनि नरहेको अवस्था छ ।

सरसफाईको लागि आएको बजेट कार्यालय प्रमुखले गोलमाल गरी कार्यालयलाई कुरुप बनाएको एक कर्मचारीले बताए । जम्मा ३ कोठे भवनमा सञ्चालन भईरहेको कार्यालयमा कोठाको अभावले कर्मचारीलाई बसेर काम गर्न समेत समस्या भईरहेको छ ।