पथरी/सडक खनेको २१ वर्षपछि कानेपोखरी गाउँपालिका–४ नर्सरी टोलस्थित चौधरी गाउँमा बजेट परेको छ ।

सडक स्तरोन्नतिका लागि बजेट आएपछि चौधरी गाउँबासी खुसी छन् । सडक निर्माण समितिले सडक प्राविधिक स्टिमेटअनुसार खनेर पूरा गरेपछि गाउँ नै परिवर्तन भएको छ । स्थानीय बसन चौधरीका अनुसार सडक बनेपछि सहज भएको छ । गाउँका उजरा चौधरी वडा सदस्य भएको २१ वर्ष पुगेको छ ।

२०५४ सालमा साविक–६ नम्बरबाट चौधरीले वडा सदस्य जिते पछि गाउँमा मुख्य सडकमा निस्कने बाटो खोलिदिएका थिए । तर अहिलेसम्म कुनै बजेट नपरेपछि बाटोको नाप नक्सा हराएर दुई पाङ्ग्रे सवारीमात्रै आवातजावत हुने गरेको थियो । एम्बुलेन्ससम्म छिर्ने बाटो थिएन, दुःख बिराम पर्दा बाटोसम्म ल्याउनुपर्ने समस्या अब हटेको उनीहरू बताउँछन् ।

अहिले २६ फुट चौडाको ५५० मिटर लम्बाइको बाटो खनिएको छ । गाउँमा सडकको दायाँ वायाँ बाक्लो घर छ । अहिले पनि पूर्ववडा सदस्य उजरा चौधरीको पहलमा वडा नम्बर ४, वडा कार्यालयबाट दुईलाख रकम छुट्टिएको निर्माण समितिका सचिव चित्र लिम्बूले बताए । प्राविधिकले सडक ४ सय मिटरमात्र निर्माण हुने स्टिमेट दिएको थियो ।

तर वडाको छुट्टिएको बजेटले १५० मिटर निमार्ण गर्न नपुगेपछि स्थानीय फुटको १५ रुपैयाँ रकम सङ्कलन गरेर सडक निर्माण गरेका हुन् । प्राविधिक स्टिमेटअनुसार ग्राभेल गर्न ४ सय मिटरलाई मात्रै दिइएको छ । बाँकी १ सय ५० मिटरमा बाटोका लागि रकम अपुग भएको निर्माण समितिका अध्यक्ष मनोज चौधरीले बताए । ‘खन्ने काम सकिएको छ, अब ग्राभेल लगाउन मात्र बाँकी छ, दुई दिनमा ग्राभेल गरिसक्छौं’–अध्यक्ष चौधरी भन्छन् ।

बसोबासको हिसावले ६० घर परिवारमा ४ सय जनसङ्ख्या रहेको सो स्थानमा ९० प्रतिशत चौधरी छन् । बाँकी १० प्रतिशत लिम्बू, माझी, क्षेत्री र बाहुन छन् । २०५४ सालमा वडा सदस्य हुँदा उतिबेला अहिलेको जस्तो बजेट नभएको उजरा बताउँछन् । पछिल्लो समय बजेटको माग धेरै गरे पनि कसैले नपत्याएको उनले गुनासो गरे ।