बिर्तामोड/सुन्दै अचम्म ? दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले देवीदेउताको पूजाअर्चना थालेका छन् भन्दा । तर, झापा ट्राफिकले पछिल्लो समय यस्तै गतिविधि गर्ने गरेको दृष्टान्त देखिने गरेको छ ।

ट्राफिक कार्यालयले दुर्घटना घटाउन चालकलाई कसम खान लगाउनेदेखि हिन्दुधर्मका शक्तिपिठमा पुजा अर्चना गर्न शुरु गरेका छन् । झापा ट्राफिकका सम्पुर्ण सदस्यले मंसिर १५ गते कनकाई माई नदीमा गएर दुर्घटना घटाउनका लागि पुजा अर्चना गरे ।

अहिले प्रदेश ट्राफिक प्रहरी कार्यालयको निर्देशनमा सवारी दुर्घटना गराउदिन भनेर छातीमा हात राखेर कसम खुवाउन थालेको छ । सवारी चालकले टूाफिक नियमको पालना गर्छु, जथाभावी पार्किङ गर्दिन, क्षमताभन्दा बढी सामान र यात्रु बोक्दिन भन्दै कसम खुवाउन थालेको बताइएको छ ।

‘भाकल, पुजा पाठ र कसमले दुर्घटना घट्छ ? झापा ट्राफिक प्रहरी कार्यालय प्रमुख राजेश राईले भने–‘धार्मिक बिश्वास पनि हुन्छ मान्छेको, त्यही कारण बिदाको दिन पारेर कन्काई माईमा पुजा गर्न गएका हौ, अर्काे कुरा त्यस स्थानको नजिकै झापाको दोमुखा नामकोे प्रख्यात पिकनिक स्थल छ, त्यहाँ मादक पदार्थ सेवन गरेर सवारी चलाउने क्रम बढेपछि ट्राफिक प्रहरीले निगरानी गरेको छ भनेर देखाउनु हाम्रो उद्देश्य थियो ।’ राईले पिकनिको सिजनमा एकैदिन सो क्षेत्रको सडकमा गरिएको चेकजाँचमा ३ लाख ५१ हजार रुपैंयाँ जरिवाना संकलन भएको जानकारी दिए ।

दुर्घटनामा सबभन्दा धेरै मोटरसाइकल पर्ने गरेका छन् । मंसिर महिनामा मात्र दुर्घटनाका १० मध्ये ९ जनाको मोटरसाइकल दुर्घटनाका कारण मृत्यू भएको राईले बताए । मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेर सवारी सञ्चालन गर्ने हुँदा दुर्घटनाको जोखिम धेरै हुने गरेको उनले बताए ।

झापा ट्राफिकले दुर्घटना न्युनिकरणका लागि बिद्यालयमा सचेतना कार्यक्रम गर्ने, २४ सै घण्टा मापसे जाँच गर्ने, फुटपाथ हटाउने, चेकजाँचमा कढाँई गर्ने लगायतका गतिविधी गर्दै आएको छ । झापा ट्राफिकसँग चारवटा ब्रेथलाइजर र दुइवटा गति मापन यन्त्र (र्याडर गन) छ ।

लगभग ७० जना जनशक्ति रहेको ट्राफिक प्रहरीले चेकजाँचका लागि नेपाल प्रहरीको सहयोग लिदै आएको छ ।