राजविराज / सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ वेल्ही सोमबार बिहान आगलागी हुँदा ६ घर जलेर २० लाख मूल्य बराबरको क्षति भएको छ । 

विजयकुमार रायको गोठमा बालिएको घुरबाट सल्केको आगो फैलिँदा उनको गोठ घरसहित ४ वटा पशुचौपाया जलेर मरेका छन् । आगलागीबाट रायका छिमेकीहरू नागेश्वर राय, बब्लु भनिने किसुन राय, अजयकुमार राय, रामचन्द्र राय र अहिल्यदेवी रायको १/१ वटा घर तथा २२ वटा पशुचौपाया, नगद, अन्नपात, गरगहना, लत्ताकपडा, फर्निचरलगायतका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

वारुणयन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा ४ घण्टापछि आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।