काठमाडौँ /  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी वैशाख १ गतेदेखि प्राधिकरणकै मातहातमा बसहरू सञ्चालन हुने बताएका छन  । 
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री महासेठले आफूहरूले बढीभन्दा बढी विद्युतीय बसहरू सञ्चालन गर्न लागेको जानकारी दिए । उनले भने, “यसका लागि हामीले प्रक्रिया अघि बढाइसकेका छौँ । प्राधिकरण गठनसँगै हामीले ठूलो फड्को मार्छौं ।” उनले नयाँनयाँ राजमार्ग निर्माणको कामको पनि थालनी गरिएको बताउँदै भूकम्पपछि बन्द भएको अरनिको राजमार्ग आगामी जेठ÷असार महिनाभित्रै पुनः सञ्चालनमा ल्याइने बताए । 

सरकार आँफै किनेर रेल सञ्चालन गर्नेगरी दुईवटा रेल आँफै किन्न लागेको बताउँदै उनले यसको लागि सरकारले पनि स्विकृति दिइसकेको उल्लेख गरे । मन्त्री महासेठले पानीजहाज चलाउने भन्दा प्रधानमन्त्री ओलीको खिल्ली उडाउने काम भएको उल्लेख गर्दै उनले भने , “कागजको पानीजहाज बनाएर पानीमा हालेर यही हो केपी ओलीको जहाज भनेर प्रतिपक्षका साथीहरूबाट सामाजिक सञ्जालमार्फत व्यापक प्रचारप्रचार गरियो । तर, ढुक्क हुनुहोस् हामी आफ्नै पानीजहाज चलाउने अन्तिम अन्तिम चरणमा पुगिसकेका छौँ ।”  आफूहरूले सिण्डिकेट तोडेको सुनाउँदै अझैपनि पुरानो कानुनका कारण बसहरू कम्पनीमा आउन नसकेको गुनासो गरे ।