तेह्रथुम/तराई क्षेत्रमा वर्षौदेखि जरो गाडेर बसेको दाइजो प्रथालाई त्याग्दै तराइ मूलका एक जोडी दाइजोविहीन विहे गर्दै समाजमा उदाहरणीय जोडी बनेका छन् ।  दाइजोकै कारण वर्षेनी गरिब तथा विपन्न परिवारले ज्यानसम्म गुमाइरहेको सन्दर्भमा एक जोडीले दाइजोविहीन विहे गरेर उदाहरणीय बनेका हुन् ।

उनीहरूको विहेले चौतर्फी प्रशंसा पाउन थालेको छ । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–७ नरसिंह घर भई प्राविधिक कार्यालय तेह्रथुममा कार्यरत गङ्गासागर यादव र सर्लाही कविलासी नगरपालिका–६ की बिनिता यादवले मैथिली परम्पराअनुसार दाइजोविहीन विहे गरेका हुन् ।

गङ्गा पेशाले सिभिल इञ्जिनियर र बिनिता आर्किटेक्चर इञ्जिनियर हुन् ।

यी शिक्षित जोडीको विहे हेर्न लायक बन्यो । मधेशी समाजमा छोरा जति पढ्यो त्यति नै बढी दाइजो दिनु पर्ने कुप्रथाविरुद्ध यी जोडीले एक रुपैयाँ नलिई विहे गरेर उदाहरणीय बनेको स्थानीय बताउँछन् । खसीबजारझैं मोलमोलाइ गरेर केटापक्षले केटीपक्षसँग दाइजो माग्ने चलन तराई समुदायमा नौलो होइन् ।

तर, यादव जोडी उदाहरणीय बनेको स्थानीय भोला यादवले जनाए । यादवका अनुसार केटाले सानै उमेरदेखि आफूले दाइजो नलिने र दाइजो दिने केटीसँग विहे नगर्ने अठोट गरेका थिए । यी जोडीको मागी विवाह हो । आफ्नो मन, विचार, संस्कार, व्यवहार मिलेको खण्डमा दाइजोेले नछेक्ने दुलाहा गङ्गासागरको बुझाइ रहेको छ ।

‘हामीजस्ता पढेलेखेका युवाहरूले समाजमा रहेका कुप्रथालाई नहटाए कसले हटाउने, हामीले हाम्रो समाज आफैँले बनाउने हो’ उनले भने । तेह्रथुममा यी जोडीको विहेलाई लिएर ठूलै चर्चा पाएको छ ।

यस्ता उदाहरणीय विहेबाट मधेशी समुदायलाई पाठ सिक्नुपर्ने उनका समकक्षी इञ्जिनियर रिशव भण्डारीको भनाइ छ ।