तेह्रथुम/ तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको सङ्गमस्थलमा रहेको गुफा पोखरी संरक्षणको पर्खाइमा रहेको छ । पर्यटकीय क्षेत्रमा रहेको प्राकृतिक रूपमा निर्मित यो पोहरीको संरक्षण नहुँदा आधा भन्दा बढी पानी सुकिसकेको छ ।

समुन्द्र सतह देखि २८ सय ९० मिटरको उचाइमा रहेको यो पोखरी निकै मनमोहक देखिने गर्दछ ।

पोखरी भन्दा केही पर रहेको मेन्छायेम डाँडा पछाडि गुफा रहेको हुनाले गुफाको नामबाट पोखरीको नाम रहन गएको स्थानीयबासी हिमा खनालले बताईन् । बिसौं शताब्दीमा गुफामा बसेर पुजारीहरुले ध्यान गर्ने गरेको र उनीहरुले पोखरीले पोखरीमा आई नुहाउने गरेकाले पोखरीको नाम नै गुफा पोखरी राखेको किवदन्ती रहेको खनालको भनाई छ ।

यस पोखरीको छेउँमा मन्दिर पनि रहेको छ । यो ठाउँ हिन्दु, किरात, धर्मावलम्बीहरुको तीर्थस्थल पनि हो । गुफा पोखरीमा रहेको पानीको श्रोत नभएकाले हाल यो संकटमा परेको छ । मूल सुक्दै गएको र नदी नाला पनि नहुँदा केहि वर्ष यता पानीको सतह र पोखरीको आकार घट्दै गएको छ ।

केहि वर्ष अगाडिसम्म हिउँ परेपछि पग्लिएर पोखरीमा पानीको मात्रा बढ्ने गरेकोमा हिउँ नै पर्न छोडेपछि गुफा पोखरीको भविष्य खतरामा परेको स्थानीयवासी फुटी शेर्पाले बताए । ‘पहिले मंशिर महिना देखि नै हिउँ पर्थियो, तर आजभोली हिउँ नै पर्न छाडिसकेको छ’ शेर्पले भने ।

स्थानीय हरी खनालका अनुसार प्राकृतिक रुपमै बनेको गुफा पोखरीमा ५ वर्ष अगाडि सम्म पानी टनाटन थियो तर पानीको मुहान सुकेपछि आधा घटेको हो । पर्यटकले छेउको डाँडा चढेर पोखरीको तस्विर लिने, दृश्यावलोकन गर्ने तथा सेल्फी खिच्ने गर्छन् ।

मानव अतिक्रमणबाट जोगाउन तारबार गरिए पनि पानी नै सुक्दै जाँदा पोखरीको अगाडिको भागमा बालुवा देखिन थालेको सोनाम शेर्पाले बताईन् ।

पोखरी घट्दै गए पनि चैत्र, बैशाख महिनामा गुराँस फुलेको मनमोहक दृश्य हेर्न आउँदा आन्तरिक पर्यटक गुफा पोखरी भने पुगेरै छोड्ने गरेका छन् । गुराँसको राजधानी भनेर चिनिने तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्र भित्र गुफा पोखरी पर्छ ।

यहाँसम्म आउँदा भने तेह्रथुम जिल्ला अथवा ताप्लेजुङ हुँदै आउनुपर्ने भएकोले बिच बाटोमा तिनजुरे, मिल्के र जलजले क्षेत्रमा नेपालमा पाइने ३२ मध्ये २८ जातको गुराँसको घना जंगल देखिन्छ ।

मौसम खुलेको बेला गुफा बजारबाट मकालु, कञ्चनजंगा, ल्होसे र सगरमाथा हिमाल समेत अवलोकन गर्न सकिन्छ । पोखरी आसपासको जंगलमा ३० प्रकारका स्तनधारी, २७४ प्रकारका चरा, २५ प्रकारका किरा, ८ प्रकारका माछा, ६ प्रकारका घस्रने जीव र ३ प्रकारका भ्यागुता पाइन्छन् । गुफा पोखरीसँगै गुफा बजार नामक मानव बस्ती छ । अलि पर सुके बजार रहेको छ ।

होटल व्यवसायीलाई भने पोखरीमा पानी घट्दा धेरै चिन्ता छाएको छ । पोखरीको पानी यस्तै हो भने अवको १० वर्ष भित्रमा पुरै सुक्ने ग्याल्दो शेर्पाले बताए । नजिकै रहेको सुके पोखरीमा पानी सुके पछि अहिले घर बनेको छ उनले भने ।

गुफा पोखरीको पनि हालत यस्तै हुन सक्ने उनको धारणा छ । स्थानीय सरकारले पानीको श्रोत पहिचान गरेर अथवा बैकल्पिक तरिकारले अन्यत्रबाट पाइपको सहायताले पानी लगाएर भएपनि पोखरी सुक्नबाट बचाउनु पर्ने स्थानीयवासीको धारणा रहेको छ ।

गुफा बजारमा खान बस्नको राम्रो सुविधा रहेको छ । यहाँ चौरीक, भेडाको घिउँ, छुर्पी, दुध दही, मही पाईन्छ । याङवेन, तङ्वा, सुकुटी र बंगुरको मासुको परिकारको लागि यो ठाउँ धेरै प्रख्यात रहेको छ । यहाँका सबै होटलमा स्थानीय परिकार, याकको मासुको सुकुटी, भेडाको मासु, लोकल कुखुरा, हिमाली सिमीको दाल पाक्ने गर्दछ ।

सरकारले हालै नयाँ पर्यटकिय गन्तव्य घोषणा गरेको तेह्रथुम, संखुवासभा र ताप्लेजुङ्गको संगमस्थल तीनजुरे, मिल्के, जलजले क्षेत्र भित्र यो गुफा बजार र पोखरी पनि पर्दछ ।

कसरी पुग्नेः
काठमाण्डौबाट हरेक बेलुकी धरान लागि बस छुट्ने गर्छ । लगभग बिहान ७ बजे धरानमा ओर्लिएर सोहि दिन अथवा भोलिपल्ट बिहान धरानबाट तेह्रथुमको बसन्तपुर सम्म जाने बस पाइन्छ । हिउँको समयमा (आजभोली) बस धरानबाट गुफा बजार सम्मनै पुग्ने गर्दछ ।

अथवा काठमाण्डौंबाट हवाई जहाज मार्फत विराटनगर आउन सकिन्छ । विराट नगरबाट प्रत्येक दिन म्याङलुङ्ग सम्म जाने बस पाईन्छ । बसमा बसन्तपुर सम्म पनि आउन सकिन्छ । विराटनगर, धरानबाट गुफा सम्म ट्याक्सी रिजर्वमा पनि प्रसस्तै पाईन्छ ।

बसन्तपुरबाट ट्याक्सी चढेर १ घण्टा ३० मिनेटमा गुफा पोखरी पुग्न सकिन्छ । बसन्तपुरबाट पैदल हिड्दा ४ घण्टामा गुफा बजार पुग्न सकिन्छ ।