सुनसरी/ इटहरी–९ मा भोलि बिहीवार हुने जनता पार्क शिलान्यासको सम्पूर्ण तयारी पूरा भएको छ । इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै इटहरी वडा नम्बर नौ जुट अनुसन्धान तथा रेशम खेती विकास कार्यक्रमको पूर्वी किनारमा जनता पार्क शिलान्यासको सबै तयारी पूरा भएको बताए ।

उनले जनता पार्क शिलान्यासमा कुनै विवाद नभएको बताएका छन् । उनका अनुसार उक्त स्थानमा तीन विगाह सार्वजनिक जग्गा छ । सोही जमिनमा इटहरी उपमहानगरले जनता पार्क शिलान्यास गर्न लागेको हो । यो पार्कको शिलान्यास १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले भोली विहान ८ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।

सोही ठाउँमा रहेको क्रिकेट मैदान अर्को ब्यवस्था नभएसम्म जस्ताको तस्तै रहने मेयर चौधरीले वताए । उनले भने –‘अहिले हामी क्रिकेट पिच छुदैनौं ।’अर्को ठाँउमा आधुनिक र ब्यवस्थित क्रिकेट पिच नवनेसम्म त्यहाँ खेल खेल्न कुनै वाँधा पुग्ने छैन । खेलकुदमा कुनै प्रभाव नपर्ने गरि पार्क निर्माण गरिने उनले प्रष्ट पारे । क्रिकेट स्टेडियमसहितको पार्क निर्माण गर्न सकिन्छ कि भन्ने बिषयमा पनि अध्ययन भइरहेको उनको भनाई छ । पार्क तीन महिनाभित्र निर्माण गरिसक्ने प्रमुख चौधरीले बताए । उनले इटहरी सरकार खेलमैत्री रहेको र चाडै खेलकुद सिटि घोषणा गरिने पनि वताए ।

इटहरी उपमहानगरपालिका कार्यपालिकाको ३३ औ वैठकले पार्क निर्माणको वहुमतले निर्णय गरेको थियो ।