उदयपुरको उत्तरपूर्वी क्षेत्रमा पर्ने बेलका नगरपालिकाको वडा नम्बर ७ मैनामैनी क्षेत्रमा पहिलो पटक महोत्सव लगाउने तयारी भइरहेको छ । त्यहाँका धार्मिक तथा जैविक पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पौष १ गतेदेखि ७ गतेसम्म महोत्सव लगाउने तयारीमा ७ नम्बर वडा समिति जुटेको छ । यही सेरोफेरोमा वडा नम्बर ७ का वडाध्यक्ष तथा कार्यक्रम संयोजक सुरेन्द्र राईसँग ब्लाष्टकर्मीले गरेकाे कुराकानीकाे सम्पादित अंश ः 

पहिलो पटक महोत्सव गर्न लाग्नुभएको छ किन गर्न लाग्नु भएको हो ?

महोत्सव गर्नको उद्देश्य चाहिँ पर्यटन क्षेत्रहरूको प्रमोटका लागि नै हो । त्यहाँको धार्मिक स्थल मैनामैनी मन्दिर, कोलोहाङ झरना जुन क्यानोनिङको लागि उत्कृष्ट स्थान पनि हो । हेभेन्लीपाथका जन्मदाताको जन्मस्थान, नजिकै प्याराग्लाइडिङका लागि डाँडालगायत एकै ठाउँबाट हिमाल, पहाड र तराईको दृष्य देख्न सकिने स्थान छ । तीनवटा नदीको सङ्गमस्थल त्रिवेणीसमेत रहेको छ । चतराधाम नजिकै पर्छ । हामी त्यसैको प्रवद्र्धन गर्नका लागि यो महोत्सव लगाइरहेको छौं । ती स्थानहरूको उजागर गर्नका लागि महोत्सव लगाउन लागिएको हो ।

महोत्सव अवधिभर कति पर्यटकहरूलाई भिœयाउने लक्ष्य छ ?

जहाँ हामी महोत्सवका लागि तयारी गरिरहेका छौं । त्यो एकदमै बिकट क्षेत्रमा पर्छ । बाटोघाटोको सुविधा उति राम्रोसँग पुगेको छैन । अहिले त्यो बाटोमा ठूलो बस पु¥याउने तयारीमा छौं । त्यो हिसावमा एक लाख आन्तरिक तथा बाह्य पर्यटक पुग्लान् कि भन्ने विश्वास राखेका छौं । लक्ष्य पनि त्यही हाराहारीमै छ ।

मैनामैनी कसरी रहन गएको हो । तपाईले मन्दिरको कुरा उठाउनु भएको छ । यसको महत्व चाहिँ के छ ?

त्यसको महत्वबारे हामी पनि धेरै जानकार छैनौं । अन्वेषण, अनुसन्धान भइरहेको छ । उत्खनन्को प्रयासमा छौं । अझै पनि पत्ता लाग्न सकेको छैन । मैना राजा, मैना रानीको नामबाटै यसको नामाङ्कन मैनामैनी भएको हो । जहाँ शिवपावर्तीको मन्दिर छ ।

यो अन्वेषण कसले गरिरहनु भएको छ ?

अन्वेषण पुरातत्व विभागबाट भइरहेको छ । व्यक्तिगत रूपमा पनि भइरहेको छ । पुरातत्व हिसावले नै स्टडी भइरहेको छ । केही विद्यार्थीहरूले यहाँको विषयमा थेसिस पनि गरेका छन् ।

भनेपछि मैनामैनीको रहस्यबारे पनि केही उजागर होला महोत्सवमा ?

अवश्य नै उजागर हुन्छ भन्ने हामीले पनि आशा गरेका छौं ।

उदयपुरको निकै चर्चित ठाउँ हो मैनामैनी । तर, पनि ओझेलमा परेको अनुभव तपाई आफैले गरिरहनु भएको छ । यसलाई अझ व्यापक बनाउन वडाको स्तरबाट के–के योजना ल्याइरहनु भएको छ ?

हामीले मैना रानीलाई अझै प्रवद्र्धन र उजागर गर्नका लागि २०७४/०७५ को वडासभाबाट पारित गरेर त्यहाँको वृत्तचित्र नै तयार पारेका छौं । तर, त्यो प्रयाप्त छैन । पुरातत्व विभागबाट एक जना मान्छे आउनु भएको छ । त्यसलाई उजागर गर्नका लागि पनि केही प्रोसेस अगाडि बढिरहेको छ । वडास्तरबाट पनि नगरपालिकालाई थप प्रवद्र्धन गर्न पहल थालिरहेका छौं ।

बेलका नगरपालिकाले त्यसलाई कसरी लिइरहेको छ ?

बेलका नगरपालिकाले मैनामैनीलाई महत्वपूर्ण विषयका रूपमा लिइरहनु भएको छ । मेयर दुर्गाकुमार थापाकै सुझावमा वृत्तचित्र बनाएका हौं । नगरपालिकाले पनि चासो लिइरहेको छ ।

भनेपछि यसले बेलका नगरपालिकाको परिचय फेर्छ हैन ?

हजुर एकदमै फेरिन्छ । ओझेलमा परेर मात्रै हो । अन्यत्र मन्दिरमा मूर्तीहरूको अवलोकन दुलर्भ मानिन्छ । तर यहाँ मज्जाले हेर्न सकिन्छ । विभागबाट आउनु भएका प्रतिनिधिले पनि अन्य स्थानमा भन्दा फरक र केही ऐतिहासिक कुराहरू प्राप्त गरेँ भनेर भन्नुभएको छ । त्यो भएको हिसावमा पनि केही परिचय फेरिएला भन्ने विश्वासमा छौं ।

मैनामैनी महोत्सवका खास विशेषताहरू के छन् ?

मैनाराजा र मैना रानीको दर्शन तथा अनुष्ठान, त्यहाँदेखि कोलोहोङ झरनामा क्यानोनिङको सुविधा, त्रिवेणीको दृष्यावलोकन, दैनिक प्याराग्लाइडिङ, प्याकेजमा बोटको पनि सुविधा छ । ¥याफटिङको पनि व्यवस्था गरेका छौं । स्थानीयस्तरमा उत्पादित अर्गानिक खानाहरूको व्यवस्था गरेका छौं । योसँगै खेलकुदलाई पनि ध्यान दिएर खुल्ला भलिबल प्रतियोगिता पनि गराउँदै छौं ।

महोत्सव त केही दिनका लागि हो । तर, नगरपालिकाले दीर्घकालीन रूपमा मैनामैनीलाई अगाडि बढाउनका लागि भौतिक पूर्वाधार निर्माणका योजना चाहिँ के छन् ?

त्यहाँको पर्यटनलाई बढाउन भ्यू टावरको निर्माण गर्ने तयारीमा छौं । भ्यू टावरको लागि १० कठ्ठा जग्गा पनि खरिद गरेका छौं । त्यही स्थानमा साकेला पार्कहरू बन्दै छन् । प्रदेशकै गौरवको योजना सुनकोशी पक्की पुल, कोशोपा खोलामा पक्की पुल निर्माण, कोटु खोलामा पनि पक्की पुल निर्माण गरेर मन्दिरसम्म जोड्दै छौं । प्रदेशबाट पनि पक्की पुलका लागि १ करोड बजेट आएको छ । त्यहाँ जानका लागि एक्सेस कम छ । त्यसको स्तरोन्नति गरी महोत्सवकै बेला बस पु¥याउने तयारी गरिरहेका छौं ।

महोत्सवले त्यहाँका स्थानीयलाई के फाइदा पुग्ला ?

पर्यटकीय स्थल बनिसके पछि त्यहाँ आउने पर्यटक तथा पाहुनाहरू त्यही बस्ने छन् । होम स्टे सञ्चालन गरेर स्थानीयले आर्थिक लाभ लिन सक्ने छन् । त्यहाँ उत्पादित कृषिजन्य वस्तुहरू बजारसम्म ल्याउन सक्नेछन् । महोत्सव त बाहाना मात्रै हो । दीर्घकालीन रूपमा फाइदा त स्थानीयलाई नै हुन्छ । त्यसबारे हामीले उनीहरूलाई जानकारी पनि दिएका छौं ।

अन्त्यमा महोत्सवसँगै वडाका केही योजनाहरू छन् की ?

हामीले प्रदेशको मुख्यमन्त्री प्रमुख अतिथि बनाएका छौं । आन्तरिक मामिला तथा कानूनमन्त्रीलाई पनि विशेष अतिथिका रूपमा आमन्त्रण गरेका छौं । त्यहाँको वस्तुस्थितिबारे उहाँहरूले अवलोकन गर्नुहुनेछ । त्यसपछि पक्कै पनि त्यहाँका लागि वार्षिक रूपमा बजेट विनियोजन गर्नु हुने छ भन्ने हामीलाई विश्वास छ । हामी यहाँबाट योजना लिएर जाँदा मात्रै नहुँदो रहेछ । प्रत्यक्ष रूपमा उहाँहरूले देखेपछि मात्रै समस्याको समाधान होला । त्यही उद्देश्यले नै हामीले महोत्सव लगाइरहेका छौं ।

प्रस्तुतिः भाेजराज श्रेष्ठ