विजयपुर/दोस्रो मेयर कप स्कुल ओलम्पिकमा डिपो स्कुलले बर्चश्व कायम गरेको छ । 

डिपोले १२ स्वर्ण पदकसहित ६ रजत, ९ कास्य जित्दै गत वर्षको शाखलाई कायमै राखेको छ । डिपो गतवर्षको पनि सर्वाधिक स्वर्ण पदक विजेता हो । च्याम्पियन बनेको डिपोले नगद १ लाख २० हजार रूपैयाँसहित ट्रफी प्राप्त गरेको छ ।

मङ्सिर ५ गतेदेखि जारी प्रतियोगिताको समापनका अवसरमा सोमबार डिपोलाई च्याम्पियनको ट्रफी र नगद पुरस्कार प्रदान गरिएको छ ।

ओलम्पिकमा सैनिक आवासीय मावि ११ स्वर्ण, २ रजत र १४ कास्य पदकसहित दोस्रो बनेको छ । सुनाखरी बार्डिङ स्कुलले १० स्वर्ण, ७ रजत र ९ कास्य पदकसहित तेस्रो बनेको छ । दोस्रो बनेको सैनिकले नगद ८० हजार रूपैयाँ पाउँदा सुनाखरीले ५० हजार रूपैयाँसहित ट्रफी प्राप्त गरेको छ ।

विजेता टिमलाई प्रदेश १ का सभामुख प्रदीकुमार भण्डारी, धरान उपमहानगरकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुवेदीलगातले पुरस्कार वितरण गरे ।  ५ स्वर्ण, ४ रजत र ८ कास्य जितेको नवज्योती चौथो स्थानमा समेटियो भने ४ स्वर्ण र ४ रजत पदक हात पारेको पब्लिक मावि पाचौं, ४ स्वर्ण २ रजत र १ कास्य जितेको शारदा बालिका नमूना मावि छैठौंँ बनेको छ ।

चार स्वर्ण १ रजत र ३ कास्य जितेको पञ्चायत मावि सातौं, ३ स्वर्ण, ४ रजत र १० कास्य जितेको नेपाल पुलिस आठौँ, ३ स्वर्ण, २ रजत र १ कास्य जितेको शिक्षा निकेतन मावि नवौँमा समेटिएको छ ।

३ स्वर्ण, १ रजत र १ कास्य जितेको ल्याबाेटरी मावि दशौँ बनेको छ ।

प्रतियोगितामा धरानका निजी तथा सामुदायिक विद्यालयका ५५ टिम सहभागी बनेका थिए । जसमध्ये ४० वटा स्कुलले मात्रै पदक हात पारेका छन् । जसमा २४ वटा स्कुलले मात्रै स्वर्ण जित्न सफल बन्यो । प्रतियोगितामा ८० वटा स्वर्ण, ८० रजत र १२४ वटा कास्य पदकका लागि भिडन्त भएको थियो ।

यसपटक १२ वटा खेल समावेश गरिएको थियो । जसमा कबड्डी र क्रिकेट समावेश गरिएको थियो भने पहिलो मेयर कपमा १० वटा खेल मात्रै समावेश गरिएका थिए ।