विराटनगर / पूर्ण रुपमा प्रतिबन्धित लगाएको गहुँको बिउ सिजनकै बेला भारततर्फ तस्करी हुने गरेको पाइएको छ ।

समयमा विउ पाउन नसकेर नेपाली कृषक सास्ती खेपीरहेको बेला स्वदेशमा उत्पादन भएको गुणस्तरिय गहुँको विउ अवैध रुपमा भारततर्फ तस्करी हुने गरेको पाइएको हो ।

मोरङका मटेरुवा, जोगवनी, दरैया, टिकुलिया, हुलासमेटललगायतको खुल्ला नाकाहरूबाट गहुँको विउ भारततर्फ पु-याउने गरिएको छ । गहुँको विउ नेपालबाट भारत लैजान पूर्ण प्रतिबन्ध लगाइएको खाद्य वस्तुमा पर्छ । भारतर्फ तस्करी हुँदै आएको गहुँको विउ ठूलो परिणाम सोमबार सशस्त्र प्रहरीले बरामद गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।

एनल २९७, एनल ९७१, गौतम, विजय, आदित्य लगायतका जातका गहुँको विउ अवैध रुपमा भारततर्फ तस्करी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । जोगवनी नाका हुँदै भारततर्फ कटाउन लागेको अवस्थामा सशस्त्र प्रहरीले एकै पटकमा एक हजार किलोग्राम गहुँको विउ बरामद गरेको छ ।

नेपालमा भन्दा महँगो मूल्य पर्ने भएपछि भारततर्फ गहुँको विउ तस्करी गर्ने गरेको जानकारहरू बताउँछन् । नेपालमा दुई हजार सात सय रुपैयाँ प्रति बोरा पर्ने गहुँको विउलाई भारतमा चार हजार रुपैयाँ भन्दा बढी पर्ने गरेका कारण यसको तस्करी मौलाएको स्रोतको दाबी छ ।

सशस्त्र प्रहरी वल नेपाल गुल्म हेड क्वाटर (राजश्व तथा भन्सार गस्ती सुरक्षा) ९ नम्बर गुल्म मोरङको टोलीले विउ बरामद गरेर आवश्यक कारवाहीका लागि सोमबारनै विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । २५ बोरा (प्रति बोरा ४० किलोग्राम) गहुँ बरामद गरेर कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको गुल्मका डीएसपी सुरेन्द्रराज रन्जितले जानकारी दिए । प्रहरीले तस्करी गरेको गहुँ बरामद गरेपनि संलग्न व्यत्तिलाई पनि पक्राउ गरेको छैन । भारततर्फ लामो समयदेखि गहुँको विउ तस्करी भइरहेको सूचना आएका कारण सीमावर्ती सबै नाकामा सशस्त्रको विशेष टोली परिचालन गरेर कडाई थालिएको प्रहरीको भनाई छ ।

विराटनगरमा लामो समयदेखि गहुँको विउको कारोवार गर्दै आएका व्यापारी मनोज गोयलले खुल्ला सीमानाका कारण धेरै वर्ष पहिलेदेखि गहुँको विउ भारततर्फ तस्करी हुने गरेको बताए । तस्करीमा संलग्नले नेपालमा भन्दा भारतमा बढी मूल्य पाउने भएका कारण गहुँको विउको तस्करी गर्ने गरेको उनको भनाइ छ ।

राष्ट्रिय विउ विजन कम्पनी लिमिटेड इटहरीका प्रमुख राजेश्वर श्रेष्ठले नेपालमा उत्पादन हुने विउ गुणस्तरिय भएको कारण भारततर्फ तस्करी हुने गरेको र यसलाई तत्काल नियन्त्रण गर्न आवश्यक रहेको बताए । श्रेष्ठले गहुँ छर्ने सिजन चलिरहेका कारण नेपालबाट भारततर्फ ठूलो परिणाममा हुने तस्करी नियन्त्रण गर्न नसकेमा नेपाली कृषकका लागि भने गहुँको विउ अभाव हुन सक्ने बताए ।

विराटनगर भन्सार कार्यालयका अधिकृत अशोक गुरागाईले नेपालबाट गहुँको विउ भारततर्फ लैजानै नपाइने बताए । ‘गहुँको विउ भारततर्फ लैजान सरकारले पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ,’ उनले भने, ‘भन्सार शुल्क तिरेर पनि लैजान पाइँदैन ।’