ताप्लेजुङ /सिरिजङ्गा गाउँपालिका प्रमुख टीकाराम गुरुङ एक सातादेखि गाउँमा छन् । प्राविधिक र सहयोगी कर्मचारीसहित कञ्चनजङ्घा हिमालको काखको गाउँ याम्फुदिन पुगेका गुरुङ टोल–टोलमा पुगेर योजना सम्झौता गरिरहेका छन् । भारतसँग सीमा जोडिएको यस गाउँपालिकाको मुख्य ध्याउन्न फागुनभित्र विकासका काम सक्नेमा छ । ‘तिहारअगावै उपभोक्ता समिति गठन गर्ने र उनीहरूलाई योजनाको बारेमा प्रशिक्षणको काम सकेका छौं’ गुरुङले भने, ‘अब लक्ष्यमा पुग्न युद्धस्तरमा लाग्नेछौं ।’ सडक निर्माण र स्तरोन्नतिका केही योजनाको काम शुरु भइसकेको गुरुङले बताए ।
सबैभन्दा ठूलो गाउँपालिकाको केन्द्र तेल्लोकबाट पेदाङ जोड्ने सडक निर्माणको ठेक्का लागिसकेको छ । १ करोड ५८ लाखको उक्त सडक एक हप्ताभित्रै सम्झौता हुने गुरुङ बताउँछन् । ८ वडा रहेको सिरिजङ्गाको विकास बजेट १७ करोड रहेको छ । आठराईत्रिवेणी गाउँपालिकाका प्राविधिक र कर्मचारीहरू वडा–वडामा पुगेका छन् । ‘वडा नं. ३ हाङ्पाङको ५ लाख बजेट रहेको सडक मर्मतको काम सकेर अनुगमन गर्दैछौं’ गाउँपालिका प्रमुख विश्वनाथ सिटौलाले भने, ‘अन्यको लागत स्टिमेट तयार पार्ने काम धमाधम भइरहेको छ ।’ काम शुरु गर्ने बेलामा इञ्जिनियर सुरुवा भएकाले केही ढिला भएको सिटौलाले बताए । विकास बजेट फ्रिज हुने र कामहरू अवरुद्ध हुने परिपाटीको अन्त्य गरिने उनको दाबी छ । ‘हरेक वर्ष बजेट फ्रिज भएर जाने समस्या छ’ प्रमुख सिटौला भन्छन्, ‘अब त्यस्तो हुँदैन ।’ मेरिङ्देन गाउँपालिकाले गाउँपालिकामा रहेका सबै सडकलाई एकीकृत मेरिङ्देन सडक सञ्जालमा जोड्ने योजनासहित काम गरिरहेको छ । ‘सबै सडकहरूको क्षेत्राधिकार तथा स्ट्याण्डर्ड चौडाइ अहिले नै निर्धारण गरी शुरुवातमै पक्की नालीसहितको चौडाइयुक्त सडक निर्माण गर्दैछौं’ गाउँपालिका प्रमुख गणेशबहादुर लिम्बूले भने, ‘१० लाख वा सो भन्दा माथिका सडक निर्माण तथा मर्मत आयोजना सञ्चालन गर्दा कोटेशन मार्फत् घटाघटमा सञ्चालन गर्ने नीति लिएका छौं ।’ हालसम्म ५० प्रतिशतभन्दा बढी योजनाहरू सम्झौता भएर काम भइरहेको गाउँपालिकाका सूचना अधिकारी धीरेन योञ्जनले बताए । योजना तथा कार्यक्रम कार्यान्वयनमा हुने ढिलासुस्ती, अनियमितता तथा अटेरी प्रवृत्तिलाई रोकी निर्धारित समयमै योजनाहरूको कार्य सम्पन्न गर्न वडा एवम् टोल र बस्तीस्तरमा टोल विकास संस्था तथा निगरानी समूह गठन गर्ने तयारी मेरिङ्देन गाउँपालिकाको छ । फुङ्लिङ नगरपालिकाले चालू आ.व.का ८ वटा योजनाको भुक्तानी नै दिइसकेको छ । भदौमै शुरु भएका वडा नं. ६ को सिँढी निर्माण, फुङ्लिङ बजार छेउका नाली बनाउने लगायतका काम सकिएको इञ्जिनियर नवीन यादवले बताए । ३ वटा भुक्तानीको क्रममा र ४ वटाको काम सकिएको तर अनुगमन गर्न बाँकी रहेको यादवले बताए । नगरपालिकाले विकासतर्फ १७ करोड १८ लाख विनियोजन गरेको छ । नगरपालिकाको विकासका लागि सबै तहका मानिसहरूको सहभागितामा विकासका कार्यक्रम अघि बढाएका छौं’ नगरप्रमुख छत्रपति प्याकुरेलले भने, ‘विकासका कामले गति लिएको छ, प्रभावकारी र मितव्ययी हिसाबले काम अघि बढ्छ ।’ गाउँको विकासमा सक्रिय भएर लागेको पाथीभरा याङ्वरक गाउँपालिका–५ का अध्यक्ष तारामान साम्सोहाङले बताए । ‘स्थानीय तहको विकास र जनतालाई राहत दिने खालका कार्यक्रम गाउँसभाबाट ल्याएका छौं’ साम्सोहाङले भने, ‘सडक, यातायात, खानेपानी, विजुली, विकास निर्माणका कुराहरूलाई नै बढी प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।’ स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिले धेरै आश्वासन बाँड्दा जनताले धेरै आशा गरेका छन् । पहिलेभन्दा विकासका काम सन्तोषजनक रूपमा अघि बढेको फक्ताङ्लुङ गाउँपालिकाका दीपक लिम्बूको भनाइ छ । ‘पहिले पौष–माघमा मात्रै उपभोक्ता समिति गठन गरेर योजना सम्झौता शुरु हुन्थ्यो’ दीपकले भने, ‘अहिले सकारात्मक शुरुवात देखिएको छ ।’ जिल्लाका ९ वटै स्थानीय तहले वैशाखभित्रै विकास बजेट सक्ने नीति लिएका छन् ।