धनकुटा/गुराँस लघुवित्त वित्तीय संस्था धनकुटाले २ करोड ५० लाख बराबरको आईपीओ निष्काशनको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
जसका लागि कम्पनीले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । लघुवित्तले प्रति शेयर एक सय रुपैयाँ अङ्कित दरका २ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको संस्थाले जनाएको छ ।
सो शेयर निष्काशन सम्बन्धी सम्झौता– पत्रमा गुराँस लघुवित्त वित्तीय संस्था लि. धनकुटाको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत नगेन्द्र मिश्र र एनआईबीएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले बिहीबार हस्ताक्षर गरेका छन् ।
संस्थाका अध्यक्ष उदय वरालका अनुसार गुराँस लघुवित्त वित्तीय संस्थाको अधिकृत पुँजी १० करोड, जारी पुँजी ७ करोड ७५ लाख र चुक्ता पुँजी ५ करोड २५ लाख रहेको छ ।
सर्वसाधारणलाई सेयर निष्काशन गरी बाँडफाँड गरेपश्चात् संस्थाको चुक्ता पुँजी ७ करोड ७५ लाख भएको बरालले बताए । ०७३ कार्तिक २२ गते नेपाल राष्ट्र बैङ्कबाट ‘घ’ वर्गको इजाजत– पत्र प्राप्त गरेको यस वित्तीय संस्थाले ०७३ मङ्सिर १३ गतेदेखि वित्तीय कारोबारको गर्दै आएको छ ।
धनकुटा नगरपालिका वडा नं.७ हुलाक टोलमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, इलाम, मोरङ र सुनसरी गरी १० जिल्लाभित्र २२ शाखा कार्यालय मार्फत् करिब ११ हजार विपन्न वर्गका महिला तथा पुरुषलाई समूहमा आबद्घ गरी करिव ७ करोड बचत सङ्कलन तथा ४९ करोड कर्जा प्रवाह गरेको जनाएको छ ।