विजयपुर / महेन्द्र बहुुमुखी क्याम्पस धरानको स्रेस्ता रहेको जग्गा ४१ वर्षपछि मोहियानी हकको माग दाबी गरिएपछि नयाँ तरङ्ग सिर्जना भएको छ ।  धरान उपमहानगर–११ पानीट्यान्कीमा रहेको १७ कठ्ठा १८ धुर जग्गामा धरान–१६ का यज्ञबहादुर घिमिरेले मोहियानी हक दाबी गरेका हुन् ।

जग्गाको धनीपूर्जा प्रमाणपत्रको स्रेस्तामा मोहियानी बाबु डम्बरबहादुर घिमिरेकोे नाम उल्लेख भएको भन्दै यज्ञबहादुरले धरान–११ नम्बर वडा कार्यालयमार्फत् सर्जिविन मुचुल्कासहित नाता प्रमाणित गरी मोही नामसारी गराउन भन्दै भूमिसुधार कार्यालय सुनसरीमा सिफारिस गरेपछि तरङ्ग पैदा भएको हो ।

२०१२ सालमा स्थापित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आङ्गिक क्याम्पस हाल एक बिघा ५ कठ्ठामा सञ्चालित छ । क्याम्पसको धरान–१ पुरानो बजारमा १ कठ्ठा रहेको छ । पानीट्यान्कीको शिक्षक क्वाटर भवन निर्माण भएको १७ कट्टा १८ धुर जग्गामा मोहियानी हक दाबी गर्ने व्यक्ति निस्किएका हुन् ।

२०३४ सालमा लोकेन्द्रप्रसाद आचार्य क्याम्पस प्रमुख हुँदा श्यामगोविन्द श्रेष्ठबाट क्याम्पसले धरान उपमहानगर –११ (साविक धरान–९ (क) कित्ता नं. २६६ नम्बरको १७ कठ्ठा १८ धुर जग्गा खरिद गरेको थियो

। क्याम्पसले खरिद गरेको जग्गाको धनीपुर्जाको स्रेस्तामै मोहियानी हक उल्लेख भए पनि यसबारे क्याम्पस प्रमुखहरू अनभिज्ञ रहेका थिए ।

अचानक धरान–१६ का डम्बरबहादुरका माइला छोरा यज्ञबहादुर घिमिरिले बाबुको हकदाबी आफूले पाउनुपर्ने भन्दै प्रक्रिया अगाडि बढाएपछि समस्या सिर्जना भएको छ । क्याम्पस प्रमुख चन्द्रकुमार राईले ११ नम्बर वडालाई सिफारिस रोक्न आग्रह गर्दा समेत अटेर गरी सर्जिमिन मुचुल्कासहित नाता प्रमाणितको सिफारिस भूमि सुधारमा पठाएको बताए ।

उनले आफूले पटक–पटक रोक्न आग्रह गर्दा पनि स्थानीय सरकारले नरोकेको बताए । उनले भने, ‘क्याम्पसको जग्गा बचाउन क्याम्पसका प्राध्यापक, विद्यार्थी संगठनबीच छलफल भएको छ । हामी यो विषयमा गम्भीर छौं । क्याम्पसका जग्गा व्यक्तिको नाममा जानु हुदैन ।’

यसबारे धरान–११ वडाध्यक्ष बाबुलाल लामाले प्रक्रियागत रूपमा सिफारिस माग्न आए पनि सार्वजनिक महत्वको जग्गालाई सिफारिस नगर्ने मनसाय बनाएको तर धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले सिफारिस दिँदा केही नहुने भनेपछि सर्जिविन पश्चात मोहीका माइला छोरा यज्ञबहादुर घिमिरेलाई सिफारिस दिएको बताए ।

उनले भने ‘एक महिना अगाडि यज्ञ घिमिरेले नाता प्रमाणित गर्न निवेदन दिए पनि आलटाल गरी बसेका थियौै ।

तर कामु प्रमुख भण्डारीले प्रक्रियागत रुपमा काम गरिदिनुस, काम नरो्क्नुस् भनेपछि प्रक्रियागत रुपमै हामीले सिफारिस दिएका हौ ।’ उनले वास्तविक मोही मरिसकेका कारण भूमि सुधार कार्यालय सुनसरीलाई डम्बरबहादुर घिमिरेको ०५६ फागुन ११ गते मृत्यु भएको, निजको एक मात्र पत्नी शिवकुमार घिमिरेका ०६४ मंसिर १४ गते मृत्यु भएको, उनीहरूका जेठा छोरा गणेश बहादुर घिमिरेको ०७३ भदौ ५ मृत्यु भएकोले माइला छोरा यज्ञबहादुर घिमिरे स्व. डम्बरबहादुरकै छोरा हुन् भूमिसुधारको नियम अनुसार मोहीको नामसारीका लागि यो सिफारिस गरिएको भनेर सिफारिस पठाएका छौ र त्यसको जानकारी महेन्द्र बहुमुखी क्याम्पसलाई पनि पठाएको बताए ।

क्याम्पसको जग्गा हक दाबी गर्ने व्यक्ति निस्किएपछि क्याम्पसका स्ववियु सभापति सरगम सागर चेम्जोङले क्याम्पसका जग्गा कसैले खोस्न नसक्ने बताए । उनले कानुनी आधारमा समेत सार्वजनिक जग्गा व्यक्तिको नाममा नजाने बताउदै यस्ता सार्वजनिक सम्पदाका सम्पत्ति हडप्न प्रपञ्चमाथि विद्यार्थी कडा प्रतिवादमा उत्रने बताए ।

उनले भने ‘भूमि सुधार एन २०२१ मा माहियानी हकवालाले मोहियानी हक पाउनका लागि श्रेष्तामा उल्लेख भएर मात्र सम्भव छैन, यसका लागि मोहियानी हकवालाले जग्गा धनीलाई कुत (तिरो बुझाएका रसिद) हुनुपर्न हुन्छ यो मामलामा महेन्द्र क्याम्पसको त्यो जग्गामा यस्तो प्रमाण नै पुग्दैन ।’

मोहियानी हक दाबी गर्ने धरान-१६ का यज्ञबहादुर घिमिरेले बाबुबाजेले जोतपोत गरेको जग्गामा र धनीपूर्जा प्रमाणपत्रका श्रेष्तामा उल्लेख भएका कारण आफुले प्रक्रियागत रुपमा दाबी गरेको बताए ।

नेपाल विद्युत प्राधिकरण शाखा धरानमा कार्यालय सहायकका रुपमा कार्यरत घिमिरेले श्रेष्तामा उल्लेख भएकाले प्रक्रियागत रुपमा हालेको बताए । उनले भने ‘म सानै छदा मेरो बुबा आमाले त्यस जग्गामा मकै, कोदो खेति गर्नुहुन्थ्यो ।

यसैको आधारमा धनीपूर्जा प्रमाणपत्रमा समेत श्रेष्तामा उल्लेख छ । आफूले पाउने अधिकार खोजेका मात्र हुँ । यसमा अनजायज कुरा चाहिँ के छ र ?’ यस विषयमा धरान उपमहानगरपालिकाकी कामु प्रमुख मञ्जु भण्डारीले प्रक्रियागत आएको निवेदनमा उपमहानगरपालिकाले सिफारिस दिएको हो ।

बाँकी कुरा त सम्बन्धित निकायले गर्ने बताइन् । उनले भनिन् – ‘श्रेष्तामा मोहीका नाम उनका बाबु स्व. डम्बरबहादुरको नाम उल्लेख छ, उनका माइला छोरा यज्ञबहादुरले नाता प्रमाणितका लागि प्रक्रियागत रुपमा आए, हामीहरुले पनि प्रक्रियागत रुपमा गरिदिएका हौं ।’ उनले भनिन् –‘यसमा क्याम्पसको समेत हेलचेक्र्याई देखिन्छ ।  ४१ बर्षसम्म कति क्याम्पस प्रमुख फेरिए श्रेष्तामा भएको नाम हटाउने प्रयासमा कोही लागेनन् ।’

सिफारस गर्ने काम नियम प्रक्रियागत रुपमा गरेको उनले पुन दोहोरियाइन् । अहिले घिमिरेले भूमि सुधार कार्यालय सुनसरीमा नामसारीका लागि वडाले दिएका सिफारिस सहित दर्ता गराइसकेका छन् ।

यस विषयमा भूमि सुधार कार्यालय सुब्बा ठाकुर रञ्जन बरालले मोही नामसारीका लागि निवेदन दिएकाले पाउने/नपाउने भन्ने कुरा कानुनी प्रावधान अनुसार हुने बताए । मोहियानी हक दाबी गर्नेले जोतभोग गर्दै आएको हुनुपर्ने प्रावधान छ ।