धरान । उद्यमशील बचत तथा ऋण सहकारीले ५ करोडभन्दा माथि निक्षेप संकलन गर्न सफल भएको छ ।

छैठौं साधारणसभाको अवसरमा सोमबार सहकारीले ५ करोड २ लाख ७७ हजार ४ सय ९१ रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको जनाएको छ । अध्यक्ष डा. योगेन्द्र राईले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नेक्रममा अघिल्लो आर्थिक वर्र्षभन्दा एक करोड ४७ लाख ८६ हजार ६३२ रुपैयाँले बढी भएको बताए ।

सहकारीले छोटो समयमै ७० करोडभन्दा बढी कारोबार गर्न सफल भएको छ । आर्थिक वर्ष २०७४/०७५ मा ७० करोड ९४ लाख १७ हजार ४५५ रुपैयाँ कारोबार गरेको हो । यो अघिल्लो आवभन्दा झण्डै २६ करोड ७० लाख ४६ हजार ३९० रुपैयाँले बढी हो । संस्थाले एक करोड १० लाख ९४ हजार ५ सय रुपैयाँ चुक्ता शेयर पूँजी पु¥याएको छ ।

२०६८ सालमा स्थापित सहकारीले सोचेभन्दा गतिलो फड्को मारेको कार्यक्रमका वक्ताहरूले बताए । कार्यक्रमको उद्घाटन प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले गरे । उद्घाटनका क्रममा उनले प्रदेश सरकारले सहकारीका विधेयकहरू सम्बन्धित मन्त्रालयमा पठाइसकेकाले आउँदो हिउँदे अधिवेशनले कानूनहरू अाउने बताए ।

उनले कानून बनाउनअघि नै सहकारी संस्थाहरूले आफ्ना सुझावहरू प्रदेश सरकारलाई पठाए त्यसले कानून निर्माणमा ठूलो सहयोग पुग्ने बताए । सरकारले तीन खम्बे अर्थनीति अनुसार सहकारी शुरूवात गरेको बताए । सहकारीले जनताको सानातिना आवश्यकता पूरा गर्न भूमिका खेलेको उनले दाबी गरे । 

कार्यक्रममा बचत तथा सहकारी संघका जिल्ला अध्यक्ष शिवराज श्रेष्ठले सहकारीहरू सहकारीको ऐनअनुरूप सञ्चालन नभएको बताए । उनले अग्रजहरूले जसरी सञ्चालन गरे त्यसैलाई अंगिकार गर्दै सञ्चालन गरेकाले ऐनमा के कस्ता बाध्यकारी नियमहरू छन् भन्नेबारे ध्यान नगएको बताए । सरकारले सहकारी ऐन २०४८ खारेज गरेर हालै २०७४ (सहकारी एेन २०७४ काे पीडीएफ पढ्न यहाँ लिंक गर्नुहाेस) ल्याएको छ । जसमा दण्ड, सजायलगायतको व्यवस्था रहेको उनले बताए ।

उनका अनुसार सहकारी बैंक तथा वित्तीय संस्था झैं सञ्चालन भइरहेको छ । उद्यमशीलले जग्गा खरिद गरेर अाफ्नै भवन बनाउने तयारी गरेको छ । त्यसका लागि विभिन्न व्यक्तिहरूले आर्थिक सहयोग गरेका छन् । सहकारीले अपाङ्गता भएका सुरज लिम्बूलाई ४ हजार रुपैयाँ बराबरको शेयर दिँदै सम्मानित गरेको छ । त्यस्तै ज्येष्ठ सदस्य दोर्जमान राई, असल बचत कर्ता, उच्च बचत कर्ता, असल ऋणी, उत्कृष्ट कर्मचारीहरूलाई पनि सम्मानित गरेको छ । हाल संस्थामा ७७० जना सदस्यहरू अावद्ध रहेका छन् ।