बिर्तामोड/ सडक दुर्घटना न्युनिकरण महाअभियानको पहिलो चरणमा सहारा नेपालले आयोजना गरेको कन्सर्टबाट २० लाख बढी बचत भएको छ ।

सहारा नेपालले मंसिर ४ गते चर्चित ब्याण्ड नेपथ्यको उपस्थितीमा बिर्तामोडमा कन्सर्ट आयोजना गरेको थियो ।

कन्सर्टका लागि प्रयोजकबाट २५ लाख ६१ हजार र टिकट बिक्रिबाट ५१ लाख ८६ हजार रुपैंया संकलन भएको आय व्यय अभियानका संयोजक महेन्द्र गिरीले सार्वजनिक गरेका थिए ।

७७ लाख ४७ हजार आम्दानी भएको कन्सर्टमा ५६ लाख ८४ हजार रुपैंयाँ खर्च भएको प्रतिवेदन आयोजकले सार्वजनिक गरेको छ ।

नेपथ्य ब्याण्डले झापाबाट ४६ लाख ९० हजार रुपैंयाँ लगेको आयोजकले प्रदान गरेको प्रतिवेदनमा छ । कार्यक्रम प्रवद्र्धन, मैदान ब्यवस्थापन, छपाई, प्रचार प्रसार, सचिवालय, होटल, सुरक्षा लगायतमा खर्च गरेको प्रतिवेदनमा छ ।

सहारा नेपालले सवारी दुर्घटना न्युनीकरण महाअभियान अन्र्तगतको पहिलो चरणमा कन्सर्ट आयोजना गरेको हो । अभियानका लागि प्रायोजकबाट १० वटा मोटरसाइकल प्राप्त भइसकेको गिरीले बताए ।

कार्यक्रमबाट संकलित रकम सडक दुर्घटना न्युनिकरण महाअभियानमा खर्च गरिने आयोजकले जनाएको छ ।

यस्तै चैत्र मसान्तसम्ममा प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई १० वटा मोटरसाइकल, १० वटा ब्रेथलाईजर (मादक पदार्थ सेवन गरे नगरेको पत्ता लाउने यन्त्र), १० वटा र्याडर गन (गति मापन यन्त्र) र तीनवटा जेब्राक्रस मार्किङ मेसिन प्रदान गर्ने महाअभियानका संयोजक महेन्द्र गिरीले जानकारी दिए ।

सवारी दुर्घटना न्युनिकरणका लागि आयोजकलाई बिभिन्न कम्पनिले १० वटा मोटरसाईकल प्रदान गरिसकेको गिरीले बताए ।

उनले दोस्रो चरणमा गरिने कार्यक्रमका लागि १० लाख रुपैयाँ अपुग भएको जानकारी दिए । त्यो रकमको ब्यवस्थापन गरेर ६० लाख रुपैंयाँ बराबरको खर्च गर्ने योजनामा आयोजक छ ।

सहाराले तेस्रो चरणमा बृहत सचेतना कार्यक्रम आयोजना गर्ने र चौथो चरणमा प्रदेशका विभिन्न २० वटा शहरमा ट्राफिक बत्ती जडान गर्ने बताएको छ ।

जसका लागि ५ करोड रुपैंयाँको बजेट सहाराले बनाएको बताएको छ ।