बिर्तामोड/ झापाको हल्दिबारी गाउँपालिकाले कृत्रिम गर्भाधानमार्फत् सुत्केरी भएका पशुलाई ‘सुत्केरी भत्ता’ दिने भएको छ ।
‘किसानको खुशी पशुपालन र कृषि’ नारासहित शुरु भएको कार्यक्रम अन्तर्गत नश्ल सुधार गरेर कृत्रिम गर्भाधानमार्फत् सुत्केरी भएका पशुलाई भत्ता उपलब्ध गराउन लागेको हो ।
गाउँपालिकाले कृत्रिम गर्भाधान गरेर सुत्केरी भएका पशुका धनीहरूलाई प्रमाणसहित उपस्थित हुन अनुरोध गरेको छ ।
कृत्रिम गर्भाधानबाट सुत्केरी भएका पशुका धनीले त्यसको प्रमाण तथा धनीको नेपाली नागरिकताको प्रमाण–पत्रसहित यसवर्षभरि गाउँपालिकाको पशुसेवा विभागमा सम्पर्क गरेर १ हजार रुपैयाँ भत्ता लिन गाउँपालिकाले अनुरोध पनि गरेको छ ।
गाउँपालिकाले त्यस क्षेत्रका सबै पशुको बिमा गर्ने उद्देश्यले किसानले व्यहोर्नुपर्ने रकममा ५० प्रतिशत अनुदान दिने निर्णय गरेको हल्दिबारीका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जनाए ।