विजयपुर । देशको खस्कदो उद्योग क्षेत्र अहिले भने सन्तोषजनक रुपमा सञ्चालन भएको साना उद्योग सञ्चालकहरुले बताएका छन् ।
साना उद्योगी व्यवसायीहरुले धरानमा आयोजित प्रथम उद्योग दिवसका अवसरमा यस्तो बताएका हुन् ।
विगत ५ बर्षभन्दा बढी डिप्लोमा हेन्डीक्राप्ट तालिम केन्द्र धरानमा प्रशिक्षण गर्दे आएकी डम्बरकुमारी मास्केले पछिल्लो समय महिलाहरुले सञ्चालन गरेका उद्योगहरु फस्टाउदै गएको बताइन् । ं
देशको राजनीतिक अस्थिरता, संक्रमणकालीन अवस्था, नियमित विजुली आपूर्तिमा समस्या भएको समयमा उद्योग धन्दा नै छोडेर विस्थापित हुने अवस्था आएको भए पनि अहिले देशले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासंगै स्थायी सरकार पाएकोले पनि महिलाहरुले सञ्चालन गरेको उद्योगहरु अहिले तंग्रिन थालेको बताइन् । उनले भनिन् ‘विगतको जस्तो समस्या अहिले छैन, साना उद्योग र घरेलु उद्योग सञ्चालन गर्नेलाई सरकारले सहुलियत दरमा ऋण तथा अनुदान दिएको छ । स्थानीय सरकारले समेत यस्ता उद्योगलाई प्रोत्साहन दिन थालेको छ ।’
महिला हिंसाको १६ दिने अभियान सञ्चालन भइरहेको बेला महिलाहरुलाई आत्मनिर्भर बनाएर अगाडि बढाउन सके महिला हिंसाको घट्नामा कमी हुने उनको बुझाई छ ।
यस्तै भनाई धरान १५ मा स्थापना भएको हातेमालो महिला समूहको समेत रहेको छ । ‘महिला पनि देशका मेरुदण्ड हुन्’ भन्ने मूल उद्देश्यका साथ स्थापना भएको समूहले अहिले धेरै महिलाहरुलाई तालिम दिएर आत्मनिर्भर बनाउने काम गरेको छ । समूहकी अध्यक्ष लिला ढकालले विगतमा ठूला उद्योगलाई भन्दा पनि साना उद्योग सञ्चालनबाट गुजारा गर्न नै अफ्ठ्यारो पर्ने गरेको भए पनि अहिले मुलुकले स्थायी सरकार पाएसंगै अवस्था दिनप्रतिदिन सुध्रिदै गएको बताइन् । उनले भनिन् –सहज वातावरणकै कारण आफ्नो संस्थामार्फत तालिम दिएका महिलाहरु आत्मनिर्भर भएर बाचेका छन् ।’ उनले सैयौ महिलाहरुलाई आत्मनिर्भर बनाउन मैनबत्ती बनाउने तालिम, सिलाई बुनाई तालिम, खेलौना बनाउने तालिम, अचारका आइटम बनाउने तालिम दिइसकेको र अहिले आफूहरुले तालिमबाट स्वमं म आफै र तालिम लिएका महिलाहरु आत्मनिर्भर हुन सहयोग पुगेको बताइन् ।
नेपालमा उद्योगमध्ये ९० प्रतिशत उद्योग घरेलु उद्योग रहेका छन् । सुनसरीमा सोही हाराहारीमा उद्योगहरु सञ्चालनमा रहेका छन् । विगतमा ४ सयको हाराहारीमा घरेलु तथा साना उद्योग दर्ता गरिएका भए पनि विगतमा राजनीतिक अस्थिरता, लोडसेडिङक, सृंखलाबद्ध बन्द कारण करिब २ सय ८० को हाराहारीमा यस्ता उद्योग सञ्चालन हुन नसकेका कारण घरेलु उद्योग दर्ता खारेज गर्नुपरेको घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख महीनारायण साहले बताए । उनले भने –‘घरेलु उद्योग सञ्चालन गर्नेलाई प्रोत्साहनसहित अनुदान दिने कामलाई तिब्रता दिएको कारण सञ्चालन भएका यस्ता घरेलु उद्योग सञ्चालनमा अहिले कठिनाई छैन ।’
दिवसकै अवसरमा धरानमा रहेका घरेलु उद्योग, सुनसरी उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योगका कर्मचारीहरुको संलग्नतामा धरानमा र्याली समेत निकालिएको थियो । र्यालीमा हातेमालो महिला समूह, डिप्लोमा हेन्डिक्राप्टस तालिम केन्द्र, भोजपुरे ढाका टोपी उद्योग, चौविसे ढाका कपडा उद्योग, उत्साह महिला समूह, भोजपुरे ढाका टोपी उद्योगलगायतका घरेलु उद्योगहरुको संलग्ततामा धरानको
भानुचौकबाट शुरु भएको र्याली सुनसरी उद्योग वाणिज्य संघको हलमा गएर सम्पन्न भएको थियो ।