इटहरी/ एक भारतीयलाई नागरिकता सिफारिस प्रकरणमा इटहरी–८ वडाध्यक्ष पनि शङ्काको घेरामा परेका छन् ।

तात्कालीन कार्यवाहक वडाध्यक्ष बुधनारायण चौधरीले भारतीय नागरिकलाई सिफारिस गरेको भने पनि वडाध्यक्षसमेत संलग्नता रहेको देखिने आधार फेला परेको स्रोत बताउँछ । भारतीय नागरिक गणेश हरिजनलाई कार्यवाहक वडाध्यक्ष बुधनारायणले नागरिकताका लागि सिफारिस दिएका थिए ।

गणेशलाई इटहरी–८ बस्ने मूर्ति हरिजनको छोरा भएको भन्दै वडा कार्यालयले नागरिकता सिफारिस गरिदिएको थियो । तात्कालीन समयमा वडाध्यक्ष रोहित चौधरी भने बाहिर रहेका थिए । तर, वडाध्यक्ष रोहित पनि नागरिकता सिफारिसमा जोडिएको स्रोतको दाबी छ । वडा कार्यालयको सर्जिमिन गर्दा पाँच जनालाई दश हजारको दरले रकमसमेत बाँडेको बताइन्छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा मूर्तिका छोरा बासुदेवले आफ्नो दाइ भएको भन्दै सनाखत गरेको देखिन्छ ।

उनको सर्जिमिन मुचुल्कामा सीता हरिजन, सीता हरिजन चमार, गितानीदेवी मोची, श्यामो मोची र बासुदेव हरिजनलाई पक्राउ गरी बयान लिइरहेको जिल्ला प्रशासन कार्यलय सुनसरीले जनाएको छ । यता वडाध्यक्ष रोहितले भने नागरिकता सिफारिसमा आफ्नो कुनै हात नरहेको बताए । उनले नागरिकता लिने तथा सिफारिस गर्नेहरूलाई खोजेर जिल्ला प्रशासनमा बुझाएको बताए ।

इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी शिव श्रेष्ठले भने भारतीयलाई नागरिकता सिफारिस गरेको वडा कार्यालय विरुद्ध अनुन्धान शुरू भएको बताए । नागरिकता सिफारिसमा त्रुटि देखिएको भन्दै डिएसपी श्रेष्ठले अनुसन्धान भइरहेको बताए । ‘नागरिकता सिफारिसमा आर्थिक चलखेल भन्ने सुनिएको छ, हामी अनुसन्धानको क्रममा छौ ।’ उनले भने ।