इनरुवा/ सुनसरी क्षेत्र नम्बर–२ का सांसद् सीताराम मेहताले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम तर्फको बजेट विनियोजन गरेका छन् ।

मेहताले आफ्नो निर्वाचन क्षेत्रलाई लक्षित गरी विभिन्न शीर्षकमा गरी ४ करोड रकम विनियोजन गरेका हुन् । मेहताले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सङ्घीय सरकारबाट प्राप्त हुने रकम प्राथमिकताका आधारमा विकासे योजना लक्षित गरी विनियोजन गरेको बताएका छन् ।

अनुगमन, स्थानीयको मागसहित सुझावका आधारमा योजना तय गरिएको मेहताले बताए ।

मेहताले आफ्नो योजनामा सडक, स्वास्थ्य, शिक्षा, खानेपानीका साथै कला संस्कृतिको संरक्षण र जर्गेनालगायतका शीर्षकमा रकम छुट्याएको बताए । ५० लाखका दुई ठूला योजना समावेश गरेका मेहताले आवश्यक्ता र प्राथमिकताका आधारमा २५ लाख, २० लाख, १५ लाख र १० लाखका दरले रकम विनियोजन गरेका छन् ।

मेहताका स्वकीय सचिव सञ्जय श्रेष्ठका अनुसार सांसद् मेहताको निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र सेनानी स्मृति उद्यान देवानगञ्जका लागि ५० लाख रकम विनियोजन गरिएको छ । त्यसैगरी उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाको भवन निर्माणका लागि ५० लाख रकम छुट्याइएको छ ।

मेहताले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत इनरुवा खेल मैदान प्रवेश द्वारका लागि २५ लाख, इनरुवाको खानेपानी तथा सरसफाइका लागि २० लाख, पतञ्जली योग पीठ सामुदायिक भवन निर्माणका लागि १० लाख, राजाजी सामुदायिक भवनका लागि १५ लाख, बलाहा बहुमुखी क्याम्पसका लागि १० लाख र राम मन्दिर बलाहाको सार्वजनिक शौचालयका लागि १० लाख रमक विनियोजन गरिएको छ ।

त्यसैगरी पशुपति शिक्षा विद्यालय गौतमपुरका लागि १० लाख रकम विनियोजन गरिएको छ ।

त्यस्तै कोइराला सामुदायिक भवन साविक मधेशाको लागि १० लाख, लक्ष्मीनारायण मन्दिर गेट निर्माण इनरुवाका लागि १० लाख, रामधुनी ऐतिहासिक धार्मिक राम मन्दिर प्रवेश द्वारका लागि १० लाख, रामधुनी नगरपालिकाको मितेरी पुलका लागि १० लाख, सेयरा विद्यालयका लागि १५ लाख, सीतपुर नहरदेखि पश्चिम साविक डुम्राहा जोड्ने बाटो स्तरोन्नतिका लागि १० लाख, रामधुनीको एक नम्बर वडाको बाटो स्तरोन्नतिका लागि १० लाख, रामधुनी–२ मा खानेपानीका लागि १० लाख रकम विनियोजन गरिएको मेहताका स्वकीय सचिव श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी इटहरी उपमहानगरपालिका अन्तर्गत मुक्तिधाम मन्दिर जीर्णोद्वारका लागि २० लाख, इटहरीकै धनकुटे टोल बाटो स्तरोन्नतिका लागि १० लाख, राजदेवी मन्दिर जीर्णोद्वार र तटबन्धका लागि १० लाख, वडा नम्बर ५ बाटो कालोपत्रेका लागि २० लाख, वडा नम्बर १ पिच स्तरोन्नति साझेदारीका लागि १५ लाख, १९ नम्बर वडामा सडक स्तरोन्नतिका लागि १५ लाख, वडा नम्बर २० मा सडक बाटो स्तरोन्नतिका लागि १५ लाख र वडा नम्बर १७ को हाटबजार व्यवस्थापनका लागि १० लाख रकम विनियोजन गरिएको सांसद् सीताराम मेहताले जानकारी दिए ।