धरान/ हस्तलिखित सुनचाँदीको भाउ दैनिक ‘अपडेट’ गर्नुपर्ने झन्झटबाट पूर्वका सुनचाँदी व्यवसायी मुक्त भएका छन् ।
दैनिक आउने दरभाउको अनलाइनमार्फत् डिजिटल डिस्प्ले राखिएपछि त्यो झन्झटबाट मुक्त भएका हुन् । सुनसरी सुनचाँदी व्यवसायी सङ्घ धरानले सोमबार पूर्वका सुनचाँदी व्यवसायीहरूलाई डिजिटल डिस्प्ले वितरण गरेको छ ।
प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले व्यवसायीलाई डिस्प्ले गर्ने मेसिन वितरण गरे ।
यसअघि सुनचाँदीको दरभाउका लागि हरेक व्यापारीलाई फोनमार्फत् टिपाउनुपर्ने बाध्यता रहेको सुनसरी सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष किशन मास्केले बताए ।
दैनिक ११ बजेमात्रै सुनचाँदीको भाउ आउने गरेको थियो ।
पसल–पसलमा वितरणका लागि झण्डै २ घण्टाभन्दा बढी समय लाग्ने गरेको उनले बताए । तर, अब भने त्यो समस्याबाट म’क्ति पाएको उनले जानकारी दिए । ‘हरेक दिनको भाउ अटोमेटिक आउँछ,’ उनले भने– ‘त्यसमा अपडेट गरिरहनु पर्दैन ।’ पूर्वका झण्डै ३ दर्जनभन्दा बढी व्यवसायीलाई डिजिटल डिस्प्ले वितरण गरिएको छ ।
यसलाई निरन्तर वितरण गरिने सङ्घले जनाएको छ । प्रदेश ३ मा र २ मा भने यस अघि नै डिजिटल डिस्प्ले वितरण भइसकेको छ । प्रदेश ३ मा एक वर्ष अघिदेखि नै यो सञ्चालनमा आएको हो ।
प्रदेश १ सङ्घमा २ हजार ५ सयभन्दा बढी व्यवसायी आवद्ध भएको प्रदेश १ का संयोजक एवम् केन्द्रीय उपाध्यक्ष मोहनकाजी शाक्यले जानकारी दिए ।